वायु प्रदूषणको दर अत्यधिक बढ्यो, सकेसम्म घर बाहिर ननिस्कन सुझाव
काठमाडौं : काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेपछि बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका बिरामीहरुलाई वातावरण विभागले सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।
सोमबारदेखि मौसममा आएको बदलावसँगै वायु प्रदूषणको स्तर अत्याधिक बढेपछि वायु प्रदूषण सम्बन्धी सूचना निकाल्दै विभागले यस्तो आग्रह गरेको हो।
बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएकाले घरबाहिर निस्कदा विशेष सावधानी अपनाउन विभागले सुझाएको छ। त्यस्तै तराई क्षेत्रका शहरहरूमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।
फोहोर र आगो बाल्दा वायु प्रदूषण बढ्ने भएकोले यस्तो कार्य नगरिदिनुहुन पनि विभागले अनुरोध गरेको छ।
‘बिरामीहरू बढी प्रभावित हुने भएकाले उहाँहरूलाई सकेसम्म घर बाहिर ननिस्किन र सबै नागरिकले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गर्दछौं’, विभागको विज्ञप्तिमा उल्लेख छ। मौसम यस्तै भइरहे प्रदूषण झन् बढ्ने विभागले जनाएको छ।
केहीदिन अघि नेपालको पश्चिमी भू–भाग हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले सोमबार बिहान यसपालिको पहिलो हिउँदे वर्षा भए पनि आकास खुलेको छैन।
वातावरणबिद्का अनुसार वायु प्रदूषणको मात्रा एक्वुआईमा नापिन्छ। एक्वुआई५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।
स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४८७ थियो।
मौसमविद् शर्माका अनुसार यसपालि आएको पश्चिमी वायुको प्रणालीमा धेरै पानीको मात्रा थिएन। त्यही भएर बादल लागे पनि काठमाडौं र पूर्वी क्षेत्रमा ठूलो वर्षा हुन सकेन।

पुष २१, २०७७ मंगलबार १७:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।