खानेपानी मन्त्री थापाको दाबी– मुलुक समृद्धिका लागि संसद् विघटन गरियो
सुर्खेत : खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले मुलकको समृद्धिका लागि संसद् विघटन गरिएको दाबी गरेका छन्।
मंगलबार वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले देशलाई खतरा तथा अस्थिरताबाट जोगाउन र जनताको म्यान्डेड लिन संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरिएको दाबी गरे।
‘आमजनतालाई देश खतरातिर जान्छ की भन्ने आशंका पैदा भएको छ,’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतासमेत रहेका थापाले प्रष्ट्याए, ‘त्यो आशंकालाई निरूपण गर्न र देशलाई खतराबाट जोगाएर स्थिरता र समृद्धिका लागि हाम्रो सरकार र पार्टीसँग जनताको म्यान्डेड लिनेबाहेक अर्को विकल्प थिएन।’
उनले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि देश नयाँ तरिकाको स्थायित्व र समृद्धितिर जाने गरी काम गरिरहेको बताए।
‘अहिले देशलाई अस्थिरतातर्फ धकेल्ने धेरै प्रयास भए,’ उनले भने, ‘त्यसैलाई सुधार्न प्रधानमन्त्रीले नयाँ निर्वाचनको घोषणा गर्नुभएको हो। नयाँ सरकार आएपछि र जनताले स्पष्ट म्यान्डेड दिएपछि मात्रै स्थायित्व र समृद्धिको सपना पूरा हुनेछ।’
उनले हाल पार्टी विभाजन भए पनि वैशाखमा हुने प्रतिनिधिसभाकोे निर्वाचनअघि पार्टीको दुवै समूहबीच एकता हुने दाबी गरे।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटाएको दाबी गर्दै मन्त्री थापाले फुटेको घोषणा गरे देशमा थप तरंग उत्पन्न हुने बताए। उनले भने, ‘त्यसैले हामीले आगामी निर्वाचनअघि एकबद्ध भएर जान आग्रहसमेत गरिरहेका छौं। आफ्नो कमी–कमजोरीलाई सुधारौं भनेका छौं। जहाँसम्म लाग्छ– हाम्रो पार्टी फेरि एकबद्ध हुनेछ।’
नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी वैशाखका मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
पुष २१, २०७७ मंगलबार १७:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।