राष्ट्रिय मानव अधिकार आयोगले भन्यो–गंगामायाको जीवन रक्षा गर

राष्ट्रिय मानव अधिकार आयोगले भन्यो–गंगामायाको जीवन रक्षा गर

काठमाडौं : आफ्ना छोराका हत्यारामाथि कारबाही माग राखेर न्यायका लागि संघर्षरत गंगामाया अधिकारीलाई न्याय प्रदान गरी जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।
 

सोमबार विज्ञप्ति जारी गर्दै आयोगले अधिकारीको स्वास्थ्य अवस्था गिर्दो र चिन्ताजनक रहेकोले तत्काल उनको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी पछिल्लो पटक गंगामाया २०७७ पुस ६ गतेदेखि वीर अस्पतालको ट्रमा सेन्टरमा आमरण अनशनमा छिन्।

आयोगले उक्त घटनाको अनुसन्धान गरी दोषीउपर फौज्दारी अभियोगमा कारबाही चलाउन तथा पीडित परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन २०६४ चैत्र २३ गते नेपाल सरकारलाई सिफारिश गरेको तथ्यसमेत स्मरण गराएको छ।

आयोगले लामो समयदेखि किनारा नलागेको कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण जस्ता सशस्त्र द्वन्दकालीन मानव अधिकार हनन्का घटनाको सम्बन्धमा यथाशक्य छिटो छिनोफानो गर्न पनि भनेको छ।

आयोगको बागमती प्रदेश कार्यालयले गंगामाया अधिकारीको जीवनरक्षाको लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको पनि जनाएको छ।

अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षाको लागि तत्काल प्रभावकारी कदम चाल्न र यसअघि सरकारले गरेका प्रतिबद्धताहरू पालना गर्न पनि आयोग नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

यसअघि अधिकारी दम्पत्तिले न्याय माग्दै आमरण अनशन बसेका थिए। अनशनको ३३४ औं दिनमा २०७१ असोज ६ गते गंगामायाका पति नन्दप्रसाद अधिकारीको निधन भएको थियो। नन्दप्रसादको अझै अन्तिम संस्कार हुन सकेको छैन।

पुष २०, २०७७ सोमबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।