कृष्ण पहाडीले औँल्याए संसद पुनर्स्थापना नहुँदा आइपर्ने ६ संकट

कृष्ण पहाडीले औँल्याए संसद पुनर्स्थापना नहुँदा आइपर्ने ६ संकट

काठमाडौं : मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले संसद विघटन हुँदा आइपर्ने ६ वटा संकट औल्याएका छन्।
 

सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पहाडीले प्रतिनिधि सभा पुनर्स्थापना नभए देशमा जातीय तथा क्षेत्रीय अतिवाद बढ्ने र विप्लवको आन्दोलन चर्किने बताए।

प्रतिनिधि सभा विघटनपछि विप्लवको हिंसात्मक आन्दोलनका लागि अनुकुल वातावरण बन्दै गएको र सो समूह हौसिएको पहाडीले बताए।

यो रिक्ततामा पूर्वराजावादीहरुले आफ्नो भविष्य खोज्न सलबलाएको बताउँदै पहाडीले देशलाई समस्यामा पार्ने औँल्याए।

पहाडीले प्रधानमनत्री ओलीले प्रतिनिधि सभा विघटनपछि अब देशमा संकटकाल लगाउने र सेना परिचालन गरी राष्ट्रिय फौजलाई पनि विवादमा तान्ने योजना बनाइरहेको आरोपसमेत लगाए।

‘खड्गप्रसाद जी संकटकाल लगाएर विस्तारै नेपालको सुरक्षा निकाय र सेना परिचालिन गरी विरोधीलाई दमन गर्ने बाटोमा सपना देख्दै हुनुहुन्छ, यो सरकारको मातहत भएर सेनालाई तान्ने खड्गप्रसाद जीको अभिष्ट छ, षडयन्त्र छ, र सेनालाई विवादमा तान्ने प्रयत्न हुँदैछ’, उनले भने।

संसद नभएको रिक्ततामा नेपाल भारत र चीनको क्रिडास्थल बन्ने खतरासमेत उनले औल्याए।

नेपालमा पहिलेदेखि नै आफ्नो अधिपत्य जमाउन गतिविधि गरिरहेका भारत र चीनले यो रिक्ततामा खेल्न खोज्ने पहाडीको दाबी छ।

यो अवस्था जटिल बन्दै जाँदा देशमा गृहयुद्धको आमन्त्रण हुनसक्ने समेत उनले चेतावनी दिए।

प्रधानमन्त्री ओलीले जननिर्वाचित संस्था विघटन गरेर देशलाई गृहयुद्धतर्फ धकेलेको पहाडीले आरोप लगाए।
 

पुष २०, २०७७ सोमबार २०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।