पश्चिम बंगालमा नेपाली र्यापर लाउरेको कन्सर्टमा भागदौड, २ जनाको मृत्यु
काठमाडौं : नेपाली चर्चित र्यापर आशिष राना लाउरेको भारतको पश्चिम बंगालस्थित कालेबुङ मैदानमा आयोजना भएको कन्सर्टमा भागदौड हुँदा २ जनाको मृत्यु भएको छ।
भागदौडमा ५ जना गम्भीर घाइते भएका छन्। कन्सर्ट सकिएपछि फर्किने क्रममा गेटमा भीड हुँदा भीडले कुल्चिँदा दुई महिलाको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ३९ वर्षीया विनिता गुरुङ र ४६ ववर्षीया अनिता क्षेत्री छन्। प्रहरीका अनुसार लाउरे गाइसकेपछि एक्कासी कन्सर्टको प्रवेशद्धारा खोलिँदा धेरै मानिस सिँढीमा लडेका थिए। घाइतेलाई कालेबुङ अस्पतालमा उपचारार्थ लगिएको थियो। घाइतेमध्ये अमिता सुब्बा र मिक्सम तामाङको अवस्था गम्भीर रहेको र उनीहरुको सिलुगढी अस्पतालमा उपचार भैरहेको छ।
घाईते मध्ये प्रतिक्षा क्षेत्री, एलिसा राई र परिमा राईको कालेबुङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ। घटनालाई लिएर सांसद राजु विष्ट र चर्चित गायक विपुल क्षेत्रीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनीहरुले घटनाको छानविन गर्न पनि माग गरेका छन्। सांसद विष्टले प्रहरीले लाठिचार्ज गर्दा भागदौड मच्चिएको उल्लेख गर्दै घटनामा प्रहरी दोषी देखिएको भनेका छन्।
सांसद विष्टले पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीलाई पत्र लेख्दै घटनाको निश्पक्ष छानविन गर्न माग गरेका छन्। पत्रमा उनले कोभिड प्रोटोकल उल्लंघन गर्दै प्रशासनले सांगीतिक कार्यक्रमका लागि अनुमति दिएको आरोप समेत लगाए।
पुष २०, २०७७ सोमबार १८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।