स्कुल अफ मेडिकल साइन्स कलेजद्वारा निकालिए ६ जना शिक्षक–कर्मचारी
काठमाडौं : काठमाडौं, वनस्थलीस्थित स्कुल अफ मेडिकल साइन्स कलेजले आफूसहित ६ जना शिक्षक र कर्मचारीलाई बिनाकारण निकालेको शिक्षक राजन मानन्धरले आरोप लगाएका छन्। कलेजले बिनाकारण तीन–तीन शिक्षक र कर्मचारीलाई निकालेको उनको आरोप छ।
कलेज सञ्चालक समिति सदस्य नवराज बराल ती शिक्षक–कर्मचारीको करार थप नगरिएको बताउँछन्। ‘पहिलेजस्तो अहिले पढाइ पनि भएको छैन। त्यसकारण उहाँहरूको करार थप नगरिएको हो,’ उनले भने, ‘तत्काल करार थप्ने स्थितिमा हामी छैनौं।’
शिक्षक राजन मानन्धरले करार थप्नका लागि मौखिक आश्वासन दिए पनि लागू नभएको आरोप लगाए।
तर, सञ्चालक समिति सदस्य बराल करार नवीकरणका लागि कलेजले कसैसँग मौखिक सम्झौता नगरेको दाबी गर्छन्।
उनी प्रत्येक दुई वर्षमा शिक्षक–कर्मचारीको करार नवीकरण गर्ने भनिए पनि करार नवीकरण गर्न बाध्यात्मक नभएको बताउँछन्। साथै उनले नियुक्तिमा तलबबाहेक अन्य सेवा–सुविधा दिने उल्लेख नभएको बताए।
अर्का शिक्षक राजेन्द्र मानन्धर ती शिक्षकहरूले असार र साउनमा अनलाइनबाट पढाएको बताउँछन्। ‘तर, कलेजले उहाँहरूलाई तलब दिएन। बरु साउनमा करार नवीकरण नगरेको इमेल पठायो,’ राजेन्द्र मानन्धरले भने।
‘प्रिन्सिपलले बोली फेरे’
त्यसलगत्तै आफूले कलेजका प्रिन्सिपल सुदर्शन बस्नेतसँग कुरा गरेको र उनले मंसिरदेखि नियुक्ति दिने आश्वासन दिएको राजन मानन्धरको दाबी छ।
तर, मंसिर पुगेपछि प्रिन्सिपल बस्नेतले बोली फेरेको उनको आरोप छ। ‘यसबारे प्रिन्सिपल बस्नेतसँग कुरा गर्न खोज्दा उहाँले लिखितरूपमा निवेदन दिन भन्नुभयो। निवेदन दिन खोजेपछि कलेजले दर्ता गर्नै मानेन,’ राजन मानन्धरले गुनासो पोखे।
आठ वर्ष पढाएको कलेज आफूलाई अपमानजनक ढंगबाट निकालेको उनको आरोप छ। ‘अपमानजनकरूपमा निकालिए पनि हिसाबकिताब पनि पाइएन,’ उनले दुखेसो पोखे।
आठ वर्षदेखि कलेजमा पढाएकाले त्यो अवधिको बिदाको रकम र असार–साउनको पूरै तलब पाउनुपर्ने उनको माग छ।
पुष २०, २०७७ सोमबार १८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।