ललितपुर महानगरद्वारा ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण

ललितपुर महानगरद्वारा ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण

ललितपुर : ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापनका सामग्री हस्तान्तरण गरेको छ। 
 

महानगरले सोमबार एक कार्यक्रमको आयोजना गरी महानगरीय ट्राफिक महाशाखालाई दुई सय थान कोन, सय थान डण्डी र ३० थान ह्विल लक उपलब्ध गराएको हो। महानगरका मेयर चिरिबाबु महर्जनले महाशाखा प्रमुख जिवन भट्टराईलाई सामग्री उपलब्ध गराएका हुन।

महर्जनले महानगर क्षेत्रमा हुनसक्ने दुर्घटना कम गर्न ती सामग्री उपलब्ध गराइएको बताए। 

उनले सडक लाईट लगायतका समस्या समाधानमासमेत महानगर लागिपरेको जानकारी दिए। 

‘महानगर क्षेत्रमा दुर्घटना भएर सामान्य चोट लागेपनि यसको जिम्मा महानगरको मेयर हुनुले मैले लिनुपर्छ’ उनले भने,‘दुर्घटना न्यूनिकरण र नगरबासीको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेका छौँ। सडक लाईटको पनि समस्या समाधान गर्ने क्रममा छौँ।’

त्यस्तै महाशाखा प्रमुख भट्टराईले महानगरले उपलब्ध गराएका सामग्री महानगरका आवश्यक स्थानमा राखिने बताए। उनले महानगरको सहयोगबाट ट्राफिक व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्तगरे। 

‘सडकका सबै समस्या ट्राफिकसँग आएर जोडिन्छन्। सडक भनेपछि सर्वसाधारणले खोज्ने ट्राफिकलाई नै हो।’ उनको भनाई थियोे,‘दुर्घटना नियन्त्रण ट्राफिक मात्रैबाट सम्भव हुँदैन। महानगरको सहयोगले दुर्घटना न्यूनिकरण र सडक व्यवस्थापनमा थप मदत पुगेको छ।’    

नगरप्रहरीलाई ट्राफिक तालिम   

महानगरले ट्राफिक महाशाखाको समन्वयमा नगर प्रहरीलाई ट्राफिक तालिम प्रदानगरिरहेको छ।

नगर प्रहरी प्रमुख सिताराम हाथेछुले दैनिक १ घण्टाका दरले यस्तो तालिम उपलब्ध गराउने गरेको बताए। 

‘सडक जाम महानगरको मुख्य समस्या हो। तालिमपछि जामको समस्या देखिएका स्थानमा तत्काल टोली पठाएर जाम हटाँउछौँ’ हाछेथुले उकेरासँग भने,‘महानगरका अन्य समस्यासँगै ट्राफिक व्यवस्थापनमा पनि नगरप्रहरीलाई समावेश गर्न लागिएको हो।’ 
 

पुष २०, २०७७ सोमबार १८:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।