‘कमेडीले देश चल्दैन’
सोमबार चितवनमा भएको कार्यकर्ता भेलालाई संबोधन गर्दै झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उखान टुक्का र कमेडीमै रमाउने गरेको बताएकी छन्।
‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’ झाँक्रीले भनिन्,‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ। सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन।’
७० करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हास्यास्पद भएको उनको भनाइ थियो।संसद विघटन जघन्य राजनीतिक अपराध हो भन्दै झाँक्रीले ओलीले बाँचुन्जेल शक्तिमा रहन संसद विघटन गरेको आरोपसमेत लगाईन्।
केपी ओली र विद्या भण्डारीको सर्वसत्तावादविरुद्ध अगाडि बढ्न आह्वान गर्दै उनले भनिन्, ‘केपी कमरेड तपाइँको राजनीति रसातलमा पुग्यो। तपाइँसँग सेना, प्रहरी सबै छन् तर तपाइँ कानुन मान्नु हुन्न। हामी मान्छौँ। सक्नुहुन्छ भन्ने थुन्नुहोस् हामीलाई।
राजालाई त लखेट्यौँ, संसद पुर्स्थापनाना त होस्, विघटन गर्नेहरुमाथि पनि हिसाबकिताब हुनेछ।’संसद विघटन राजनीतिक प्रश्न भएकाले यसको छिनोफानो सडकबाटै हुने झाँक्रीले बताइन्।
पुष २०, २०७७ सोमबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।