नेकपाका दुई समूहको यस्तो छ रणनीति

नेकपाका दुई समूहको यस्तो छ रणनीति

पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह सरकारबिरुद्ध आन्दोलन चर्काउने रणनीतिमा छ। अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूह जिल्ला तथा प्रदेशस्तरका भेला गर्नमै केन्द्रित देखिन्छ। दाहाल- नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध आज आन्दोलनका थप कार्यक्रम घोषणा गर्दैछ। अहिले ३ बजे पेरिसडाडा कार्यालयमा पत्रकार सम्मेलनमार्फत सो समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो।
यसअघि संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग कुरा गर्ने भनेको सो समूहले संयुक्त आन्दोलनका कार्यक्रम तत्काल नबन्ने देखेपछि एकलौटी रूपमा घोषणा गर्न लागेको हो। 

यसअघि नेकपाले पुस १४ मा देशव्यापी प्रदर्शन गरेको थियो भने पुस १७ मा सबै प्रदेशका बैठकसमेत सम्पन्न भएका थिए।  संघर्ष समितिको बैठक अहिले पेरिसडाडामा बसिरहेको छ। बैठकलगत्तै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए। 

नेकपाले कांग्रेस र अन्य दलससँग मिलेर संयुक्त आन्दोलनका लागि प्रयास गरे पनि कांग्रेस तत्काल थप आन्दोलन गर्ने मनस्थितिमा नदेखिएपछि सो समूहले एक्लै आन्दोलन चर्काउने जनाएको छ। प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने जनाएको समूहले संघर्षका लागि प्रदेश र जिल्लास्तरमा पनि समिति गठन सुरु गरेको छ।  
संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ। संवैधानिक ईजलासमा रहेको मुद्दा पुस २२ गतेदेखि सुनुवाइ हुँदैछ। त्यसअघि दबाबस्वरुप सो समूहले आन्दोलन गर्न लागेको हो।                यस्तै नेपाल ओली समूहले जिल्ला तथत प्रदेशस्तरमा भेला आयोजना गरिरहेको छ । सो समूहको वृहत् कार्यकर्ता भेला आज काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको छ।
काठमाडौं जिल्ला कमिटीले  आयोजना गरेको भेलालाई प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ।
यस्तै गृहमन्त्री रामबहादुर थापा, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले पनि सम्बोधन गर्ने तय भएको काठमाडौं कमिटीले जानकारी दिएको छ।

पुष १८, २०७७ शनिबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।