नेकपा फुटाउन प्रतिगामी शक्तिले तीनवटा रणनीति बनाए : गृहमन्त्री थापा
ललितपुर महानगरका नेकपा कार्यकर्तालाई शुक्रबार लगनखेलमा सम्बोधन गर्दै थापाले नेकपा फुटाउन प्रतिगामी शक्ति सक्रिए बनेको बताए।
‘यो स्थिति पैदा गर्न प्रतिगामीले तीनवटा रणनीति बनाएको देखिन्छ। पहिलो नेकपा विभाजन गर्न अन्तरविरोध, असन्तुष्टि, कमजोरीलाई सुक्ष्म रूपमा अध्ययन गरेको देखिन्छ। नेकपाभित्र गम्भीर अन्तरविरोध छन्, असन्तुष्टि छन् र कमजोरी छन् भन्ने पत्ता लगाए’उनले भने, ‘नेकपाभित्र राष्ट्रपति हुने पात्र र प्रवृत्ति छन्, हुन नपाएकोमा तीव्र असन्तोष छ।
उनीहरूले यो पनि पत्ता लगाए कि पार्टी अध्यक्ष हुने आकांक्षा राख्ने पात्र पनि छन्। पार्टीभित्र प्रधानमन्त्री र मन्त्री हुने पात्र र प्रवृत्ति छन्, तलदेखि माथिसम्म। अन्तरविरोधलाई अतिसम्म पुर्याएर पार्टी विभाजन गराए।’
नेपालमा राजनीतिक स्थिरता हुन नदिन प्रतिगामी शक्तिले नेकपा विभाजनको षड्यन्त्र रचेको भन्दै उनले विभाजित पार्टीलाई फेरि एकताबद्ध बनाउन प्रयास गरिने बताए।
पार्टीलाई फूट र विघटनबाट बचाउन भएका परिश्रम असफल भएको उनले बताए। तर मध्यावधि निर्वाचनमा एकताबद्ध भएर विभाजित पार्टीलाई एक बनाई लैजान सकिने उनको भनाइ छ।
पूर्व माओवादी कोटाबाट मन्त्री बनेका थापा अहिले प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन्।
पुष १७, २०७७ शुक्रबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।