उखुको बक्यौता एक महिनाभित्र भुक्तानी दिन सर्वाेच्चको आदेश
उखुको बक्यौता रकम भुक्तानी प्राप्तिका लागि वर्षैपिच्छे हारगुहार र धर्ना गर्नु काठमाडौंसम्म आउनु पर्ने स्थिति किसानका लागि आफैमा अन्यायपूर्ण मात्र नभएर लोक कल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकोले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नु पर्ने रकम उद्योगबाट उखु किसानहरुलाई भुक्तानी दिनु र दिलाउनू, सर्वोच्चको आदेशमा भनिएको छ।
आदेशको जानकारी महान्यायाधिवक्ताको कार्यालयमार्फत् विपक्षीहरुलाई दिई लिखित जवाफ पेस गर्नसमेत भनिएको छ।
संविधानको धारा २५ ले प्रत्येक नागरिकलाई आफ्नो सम्पत्ति बेचबिखन गर्ने, व्यवसायीक लाभ प्राप्त गर्ने र सम्पत्तीको अन्य कारोबार गर्ने मौलिक हक प्रदान गरेको सर्वोच्चको आदेशमा उल्लेख छ।
उखु उत्पादन गर्ने कृषकले आफ्नो पुँजी, मेहनत, पसिना र कतिपयले व्यक्तिगत वा बैंकसँग कर्जा लिएर उखु उत्पादन गरेको मूल्य तत्काल प्राप्त गर्न नसक्नाले आफ्नो जीविकोपार्जन, परिवारको भरणपोषण, शिक्षा, स्वस्थ्य जस्ता अतिआवश्यक विषयमा खर्च गर्न नसक्नुका साथै उल्टो कर्जाको मारमा परिरहनु परेकोसमेत सर्वोच्चको आदेशमा उल्लेख छ।
आफूले विक्री गरेको उखु उखुको मुल्य नपाएको भन्दै तराईका जिल्लाबाट किसानहरु गत वर्ष देखि काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन्।
पुष १६, २०७७ बिहीबार २२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।