सशस्त्र प्रहरीको डीआईजीमा ६ जना बढुवा सिफारिस, एसएसपी हुँदा पहिलो नम्बरका खत्री तेस्रो नम्बरमा 

सशस्त्र प्रहरीको डीआईजीमा ६ जना बढुवा सिफारिस, एसएसपी हुँदा पहिलो नम्बरका खत्री तेस्रो नम्बरमा 

बिहीबार गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ६ जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। सशस्त्रमा सात जना डिआईजीको दरबन्दी रिक्त रहेको भए पनि हाल ६ जना मात्रै बढुवाका लागि सिफारिस भएका छन्।

डीआईजी बढुवाका लागि सिफारिस हुनेहरुमा एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र  कुलबहादुर नेम्वाङ रहेका छन्। सशस्त्रमा पहिलो वरियतामा रहेका एसएसपी खत्रीलाई तेस्रो नम्बर पुर्याइएको छ।

सशस्त्रमा नेपाली सेनाबाट सेवा परिवर्तन गरी सशस्त्रमा आएका र हाल सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहेका नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठले २७ मंसिरबाट अनिवार्य अवकाश पाएका थिए।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले केही दिन अगाडि सूचना जारी गर्दै सात दिनभित्र सशस्त्र प्रहरी उपरिक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन आग्रह गरेका थिए ।

सशस्त्र प्रहरी नियमवाली–२०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ। जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सदस्य सचिव रहनेछन् ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकनबापत ४० अंक, ज्येष्ठता बापत २० अंक, भौगोलिक क्षेत्रमा काम गरेबापत ८ अंक, शैक्षिक योग्यता बापत ७ अंक, तालिमबापत १३ अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापत ५ अंक, विभूषण बापत २ अंक र बढुवा समितिले दिने अंक बापत ५ अंक दिन पाउने व्यवस्था छ।

पुष १६, २०७७ बिहीबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।