बाणिज्य बैंकका आठ कर्मचारी मिलेर नक्कली धितो बनाई ऋण प्रवाह
नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकस्थित शाखा कार्यालयमा किर्ते धितो बनाइ ऋण प्रवाह गरेको अभियोगमा अख्तियारले शाखा प्रवन्धकसहित आठ जनाविरुद्ध विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो।
किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिएको अख्तियारको अनुसन्धानले देखाएको छ।
किर्ते धितोमा ऋण लेनदेनमा बैंकका तत्कालीन शाखा प्रबन्धक ललित बहादुर शाही, सहायक (नगद) कल बहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक (नगद) प्रिन्सी गुप्ता, सूचीकृत धितो मुल्यांकनकर्ता कर्ण बहादुर के.के., रिजवान अहमद जसगढ, सकिना जसगढ र फहमिदा बानो जसगढ संलग्न रहेको अख्तियारले जनाएको छ।
सात जनालाई प्रतिव्यक्ति १ करोड २५ लाख रुपैयाँ र सकिना जसगढलाई ७५ लाख रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
उनीहरुले गैरकानूनी लाभ वा हानी पुर्याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
पुष १४, २०७७ मंगलबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।