कक्षा ११ को पाठ्यक्रमबारे अन्योल निराकरण गर्न नेविसंघको माग
यही शैक्षिक सत्रदेखि लागू हुने गरी कक्षा ११ को केही पाठ्यक्रम परिवर्तन भएपछि सर्वाेच्च अदालतले त्यसलाई तत्काल लागू नगर्न अन्तरिम आदेश दिएको र त्यसपछि कुन पाठ्यक्रम पढ्ने वा पढाउने भन्ने अन्योल देखिएको महामन्त्री बलदेव तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘सर्वाेच्च अदालतको अन्तरिम आदेशपश्चात नयाँ पाठ्यक्रम पढाउन रोकिएसँगै कुन पाठ्यक्रम पठाउने र पढ्ने भन्ने टुंगो नहुँदा अन्योल खडा गरेको छ। शिक्षा मन्त्रालय यसप्रति बेखबर हुनु दुःखद छ,’ विज्ञप्तिमा उल्लेख छ।
मुद्दाको सुनुवाइ चले पनि पटक–पटक पेसी स्थगित भएको, अदालतले फास्ट ट्रयाकबाट फैसला गर्न नखोजेको र शिक्षा मन्त्रालयले यसबारे आवश्यक पहल नगरेको साथै यसतर्फ शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्रलगायत सरोकारवाला निकायले तत्काल अन्तरिम निकास निकाल्न पहल नगरेको नेविसंघको आरोप छ।
पाठ्यक्रमबारेको अन्योल तत्काल निराकरण नगरे संघर्षमा उत्रिने नेविसंघले चेतावनी दिएको छ।
पुष १४, २०७७ मंगलबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।