संसद् विघटनमा देउवाको लाइन प्रष्ट : अदालतले जे भन्छ त्यही मान्ने

संसद् विघटनमा देउवाको लाइन प्रष्ट : अदालतले जे भन्छ त्यही मान्ने

सबै निर्वाचन क्षेत्रमा काँग्रेसले आयोजना गरेको कार्यक्रमको उद्देश्य ओलीको असंवैधानिक कदमको विरोधमा आयोजना गरिएको पार्टीले दाबी गरेको थियो। संविधानमै नभएको प्रावधानमा टेकेर राष्ट्रपतिले सदर गरेको प्रतिनिधि सभा विघटनको निर्णय अदालतबाट सच्याउन नैतिक दबाब दिने उद्देश्य भएको समेत केही काँग्रेसी नेताले दाबी गरेका थिए।

तर पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरमा गरेको सम्बोधनले पार्टी संसद् विघटन गर्ने निर्णयबारे आफ्नै नीति बनाएर अगाडि बढ्ने भन्दा पनि सर्वोच्च अदालतबाट जे आदेश आउँछ त्यसैलाई अनुसरण गर्ने लाइनमा गएको प्रस्ट भएको छ।

भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले संसद् विघटनबारे अदालतले गर्ने निर्णय पार्टीलाई मान्य हुने बताए। उनले कम्युनिस्ट सरकारसँग अदालत केही डराएको समेत बताए। अदालत सरकारसँग डराए पनि जस्तो आदेश आए पनि स्वीकार गर्ने समेत बताए।

उनले सभामा संसद् विघटन असंवैधानिक र अप्रजातान्त्रिक कदम भएको बताए। असंवैधानिक कदमलाई संविधानको व्याख्याको अधिकार पाएको अदालतबाट सदर भए स्विकार्ने पनि बताए। यसले काँग्रेसले भावी दिनमा सरकारविरुद्ध लिने नीति सर्वोच्चको संवैधानिक इजलासबाट आउने आदेशमा निर्भर रहेको प्रस्टै देखियो।

‘हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौँ।’ 

पुष १३, २०७७ सोमबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।