कांग्रेस प्रवक्ता शर्माले राष्ट्रपतिलाई भने– त्यो पद के हो र भूमिका के हुनुपर्छ भन्ने बारे पूर्वराष्ट्रपतिसँग ट्युसन पढ्नुस्
संसद विघटन गर्ने ओलीको कदमविरुद्ध कोटेश्वरमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै शर्माले पहिलो दोषी ओली नै भए पनि पुष्पकमल दाहाल, माधव कुमार नेपाल र राष्ट्रपति विद्या देवी भण्डारी, क्रमश: दोषी रहेको बताए।
अहिलेको राष्ट्रपतिले पदको मर्यादा भुलेर काम गरिरहेको औंल्याउँदै शर्माले राष्ट्रपति भण्डारीलाई पूर्वराष्ट्रपति यादवसँग ज्ञानको कक्षा लिन सुझाए। ‘राष्ट्रपति ज्यूमा ज्ञानको कमी भयो, राष्ट्रपति पद के हो र भूमिका के हुनु पर्छ भन्ने कक्षा लिन तपाइले पूर्वराष्ट्रपति रामवरण यादवसँग ट्युसन क्लास पढ्नुस्,’ प्रवक्ता शर्माले भने।
कांग्रेस नेकपा भित्र देखिएको विवादका विषयमा कुनै पनि कित्तामा नरहेको र नरहने बताउँदै कांग्रेस ननताको पक्षमा रहने समेत बताए।
‘कांग्रेस न ओलीसँग नजिक छ, न प्रचण्ड वा माधवसँग कांग्रेस जनतासँग नजिक छ, जनतासँगै नजिक रहन्छ,’ शर्माले भने।
जनताबाट निर्वाचित भएका प्रधानमन्त्रीबाटै प्रजातन्त्र जोखिममा परेको उनको भनाई थियो।
दुई तिहाइको सरकार चलाउने जनादेश पाएका ओलीले उखानमा मात्रै समय बिताएको शर्माले भनाई थियो। ओलीले काम गर्न नदिएको भन्ने प्रसंगलाई शर्माले प्रश्न गरे,‘तीन वर्षको अवधिमा कांग्रेसले ओलीलाई काम गर्न नदिएको हो ?’
उनले कार्यकर्तालाई नसोधी नेकपा जोडिएकाले आज नेकपा विभाजन भएकोसमेत बताए।
ओली र दाहालले आफूहरु प्रधानमन्त्री हुन मात्रै नेकपा एकता भएकाले नेकपा विभाजन भएको शर्माको तर्क छ। उनले भने,‘कुनामा बसेर सहमति गरियो।’ नेकपाको घर झगडाले मुलुकमा अस्थितरता निम्तिएको प्रवक्ता शर्माको भनाई छ।
बालुवाटार जग्गा प्रकरण, ओम्नी प्रकरण जस्ता अनियमितता तथा भ्रष्टाचारमा ओलीसरकार लागेको उनले आरोप लगाए। कोरोनाको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको उनले आरोप लगाए।
‘सरकारले कोरोनाको समयमा जनतालाई उपचार गर्नुको सट्टा भ्रष्टाचारमामात्रै केन्द्रीत भयो’ शर्माले भने। भ्रष्टाचार बलात्कारका घटना कम्युनिष्ट सरकारको पालामा बढेको पनि उनले बताए। शर्माले तीन वर्ष अघि केपी ओलीले बाँडेको सपना दुर्गतिमा परिणत भएको तर्क गरे।
नेपाली कांग्रेस जन्म, सिद्धान्तले पनि जेठो भएकोले संकटको अवस्थामा नेतृत्व लिने बताए।
पुष १३, २०७७ सोमबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।