कैलाली प्रहरी हत्याकाण्ड : मुख्य योजनाकार प्रहरी फन्दामा
घटनाका मुख्य योजनाकार भनिएका धनगढी उपमहानगरपालिका–१०, जुगेडाका ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई जिल्ला प्रहरी कार्यालय, कैलालीले आज (सोमबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। घटनापछि फरार उनी आइतबार राति ७:३५ मा धनगढी उपमहानगरपालिका–१९, फुलबारीस्थित नेपाल भारत सीमा क्षेत्र नजिकैबाट पक्राउ परेका हुन्।
घटनामा संलग्नको आरोपमा पक्राउ परेकाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको र उनलाई आजै अदालतमा पेश गरिने प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार उनी मटर (केराउ) तस्करीमा संलग्न थिए। तस्करी नियन्त्रणमा कडाइ गरिएपछि उनकै नेतृत्वको टोलीले बिक र साउदको हत्या गरेको प्रहरीको निष्कर्ष छ।
यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परिसकेका छन्। तीमध्ये आठ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको र एक जना धरौटी तिरी रिहा भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेका आरोपमा रोहित राना ‘पर्कु’, राजेन्द्र राना, सुरेश राना ‘चोर’, राजकुमार राना ‘गब्बर’, रामनिवास राना, दलराम राना ‘टल्लु’, रोहित राना, राम गोपाल राना ‘गोपाल’ र राजिव गुप्तालाई पक्राउ गरिएको थियो। तीमध्ये गुप्ता एक लाख ५० हजार रूपैयाँ धरौटीमा रिहा भएका छन्।
गत कात्तिक १ गते सीमावर्ती क्षेत्रमा खटिएका अस्थायी प्रहरी पोस्ट, जुगेडामा कार्यरत असई बिक र जवान साउदको हत्या भएको थियो। तीमध्ये बिकको शव घटनाको भोलिपल्ट र साउदको शव चार दिनपछि मोहना नदीमा फेला परेको थियो।
पुष १३, २०७७ सोमबार १२:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।