चिनिया गमले टाँसिएला नेकपा ?

चिनिया गमले टाँसिएला नेकपा ?

प्रधानमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा आएको चार सदस्यीय प्रतिनिधिमण्डलबिच आइतबार बेलुका भेट भएको थियो। 

नेकपामा बढेको विवाद समाधानको सूत्र खोज्न आएको अनुमान गरिएको टोली नेपालमा चार दिन रहनेछ। प्रधानमन्त्री ओली र चिनियाँ टोलीबिचको भेटमा मुखैमा आएको सन् २०२१ को शुभकामना आदानप्रदान भएको र प्रधानमन्त्री ओलीले नेपाली भूभाग चीन विरोधी गतिविधिमा उपयोग हुन नदिने प्रतिबद्धता व्यक्त भएको भट्टराईले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

भेटमा चिनियाँ टोलीले चीनका राष्ट्रपतिले पठाएको नयाँ वर्षको सन्देश सुनाएको र प्रधानमन्त्रीले समेत शुभकामना दिएका थिए।

भेटमा नेपाल चीन र नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबिचको सम्बन्धबारे कुरा भएको तथा चीनको टोलीले नेपाल र चीनको सौहार्दपूर्ण सम्बन्धमा खुसी व्यक्त गरेको भट्टराईको दाबी छ। प्रधानमन्त्री ओलीले नेपाललाई चीनबाट पाएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

नेपालले एक चीन नीतिमा समर्थन गरेकोमा चीनको टोलीले प्रधानमन्त्रीलाई धन्यवाद दिएको भट्टराईले उल्लेख गरेका छन्।

भट्टराईद्वारा सार्वजनिक प्रेस नोट अनुसार प्रतिनिधिमण्डलसँग सामान्य छलफल भएको दाबी गरिए पनि आकस्मिक नेपाल भ्रमणमा आएको टोलीको चासो नेकपामा बढेको किचलोको समाधान रहेको देखिन्छ। अहिले टोलीको नेतृत्व गरेका येझाउ तत्कालीन एमाले र माओवादीबिच एकताको सहमतिपछि नेपाल आएका थिए। उनलाई नेकपाको सूत्रधारको रूपमा लिइन्छ।

टोलीले राष्ट्रपति विद्या भण्डारीसँग आइतबारै भेट गरिसकेको छ।

तर जटिल छ

संसद् विघटनपछि नेकपाका दुई गुट जुन बाटोमा हिँडेको छ उनीहरूलाई फर्काएर एकै थलोमा राख्न चिनियाँ टोलीलाई हम्मे नै पर्ने देखिन्छ।

केन्द्रमा एक समूह सरकारमा छ। अर्को सडक आन्दोलनमा छ। केन्द्रको बदलामा प्रदेशमा सरकार विरुद्ध अविश्वास प्रस्ताव पेस हुने क्रम बढेको छ।

नीतिगत भन्दा व्यक्तिगत टकरावले नेकपा फुटतिर तीव्र गतिमा हिँडिरहेको बेला चिनियाँ ब्रेकले काम गर्ला ?

पुष १३, २०७७ सोमबार ००:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।