राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षीको सन्देश– नेकपा फुट्नु हुँदैन 

राष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षीको सन्देश– नेकपा फुट्नु हुँदैन 

आइतबार दिउसो नेपाल आएको येचौ नेतृत्वको चार सदस्यीय टोली र राष्ट्रपतिबीच शितलनिवास भेट भएको हो। 

भेटवार्ता पछिल्लो समय फूटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे केन्द्रीत रहेको बताइएको छ।

उक्त टोली चिनियाँ राष्ट्रपति सी चिनफिनको सन्देश बोकेर शीतलनिवास पुगेको हो। राष्ट्रपति सीले सन्देशमा आफू एकताको पक्षमा रहेको उल्लेख गरेका छन्। उनले राष्ट्रपति भण्डारीलाई नेकपाको विवाद समाधानका लागि पहल गरिदिन पनि आग्रह गरेका छन्।

उक्त टोलीले भोलि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेताको यो भ्रमण सरकारी स्तरको नभएर पार्टीस्तरको राजनीतिक भ्रमण मात्र भएको नेकपाका नेताहरु बताउछन्। 

चिनले नेकपामा आएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै आएको छ। प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय लिएलगत्तै नेकपा ओली र दाहाल–माधव नेपाल समूहमा विभाजित भएपछि चिनियाँ अधिकारीहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

विभाजनपछि चिनियाँ राजदूत होउ यान्छीले पनि नेताहरुसँग भेटघाटलाई तीब्र बनाएकी थिइन्। उनले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, दाहाल नेपाल, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, वर्षमान पुन लगायतलाई भेट गरेर पछिल्लो घटनाक्रमबारे चासो व्यक्त गरेकी थिइन्। 

पुष १२, २०७७ आइतबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।