अवसरको पर्खाइमा गौतम
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली र पुष्पकमल दाहाल– माधवकुमार नेपाल दुई समूहमा विभाजन भएको छ।
केन्द्रमा पार्टी दुई समूहमा विभाजन हुँदा स्थानीय तह सम्म पनि प्राय नेता कार्यकर्ता विभाजित भैसकेका छन्।
सोही पार्टीका उपाध्यक्ष बामदेव गौतम भने कुनै पनि समूहमा लागेका छैनन्।
गौतमलाई आफ्नो पक्षमा पार्न ओली र दाहाल–नेपाल दुवै समूह लागिपरेका छन्।
तत्काल कुनै समूहमा जाने मनस्थितीमा गौतम नरहेको उनलाई भेट्नेहरु बताउछन्। यद्दपी गौतमले आफू जनताको बहुदलीय जनबाद (जबज) को पक्षमा रहेको बताउने गरेका छन्।
जुन समूहले जबजको सिद्धान्त बोक्छ त्यसै समूहमा जाने उनले प्रतिक्रिया दिने गरेका छन्।
शनिबार दाहालसँग भेटेका गौतमले आफू जबजको सिद्धान्तमा अडिग भएकाले दाहाल–नेपाल सम“हमा नजाने प्रतिक्रिया दिएको गौतमका प्रेस संयोजक विश्वमणि सुबेदीले बताए।
भेटमा दाहालले गौतमलाई आफ्नो समूहमा लाग्न आग्रह गर्दै संसद पुनःस्थापना भए संसदमा र पुनःस्थापना नभए पार्टीमा उचित जिम्मेवारी दिने प्रस्ताव गरेपनि गौतमले नमानेको सुवेदीको भनाई छ।
दाहालको प्रस्तावलाई ठाडै अस्वीकार गरेका गौतमलाई आइतबार भेट्न पुगेको सुदूरपश्चिमबाट ओली पक्षका नववियुक्त केन्द्रीय सदस्यहरुको टोलीलाई पनि गौतमले आफू जबजको सिद्धान्त बोक्ने समूहमा जाने बताएका छन्।
गौतमले पार्टी दुई समूहमा विभाजन भएकोप्रति दुःख व्यक्तगर्दै पार्टी एकताकै पक्षमा रहेको प्रतिक्रिया दिने गरेका छन्।
आइतबार भेट्न पुगेको सुदूरपश्चिमबाट ओली पक्षका नववियुक्त केन्द्रीय सदस्यहरुको टोलीलाई पनि गौतमले आफू जबजको सिद्धान्त बोक्ने समूहमा जाने बताएका छन्।
‘दाहाल–नेपाल समूहले जबजको सिद्धान्त बोक्न सक्दैन भन्नुभयो’ आइतबार भेटेका एक नेताले गौतमको भनाई उद्धृत गर्दै सुनाए,‘जबजको सिद्धान्त बोक्ने ओली समूहले नै हो। तर, म अहिले नै कुनै समूहमा जाँदैन।’
गौतमले आफू दुवै समूहसँग संवादमा रहने र पार्टी एकताको अभियानमा लागेको बताउँदै दुवै समूहले सम्बन्ध थप तिक्ततापूर्ण बनाउनेगरी कार्य नगर्न समेत सुझाब दिदै आएका छन्।
गौतमले पार्टी एकताका लागि लागिपरेको बताए पनि उनी पार्टीको आधिकारिकताबारे निर्वाचन आयोग र संसद विघटनबारे सर्वोच्च अदालतको निर्णय पर्खेर बसेका छन्।
‘निर्वाचन आयोग र सर्वोच्चको जे निर्णय आउँछ त्यसपछि मात्र आफूले निर्णय लिने पक्षमा गौतम देखिनुहुन्छ’ आइतबार उनलाई भेटेका एक नेताले भने,‘दाहाल–नेपाल समूहमा भन्दा ओली समूहमा गएपछि आफूले राम्रो अवसर पाउछु भन्ने उहाँको आशय देखियो।’
एक त ओलीबाट यसअघि थुप्रै पटक धोका पाइसकेका गौतम पछिल्लो समय ओली समूहले पार्टीको आधिकारिकता पनि पाउँदैन कि भन्नेमा आशंकित देखिन्छन्। त्यसैले उनी निर्वाचन आयोग र सर्वोच्चको निर्णय कुरेर बसेको हुनसक्ने उनी निकट नेताहरु बताउछन्।
एकजना बाम्पन्थि विश्लेषकको बुझाईमा गौतम निकै अवसरवादी नेता हुन्। उनी पार्टीको आधिकारिकता, सर्वोच्चको निर्णय भन्दा पनि कुन समूहमा जाँदा व्यक्तिगतरुपमा बढी फाइदा हुन्छ त्यसैमा जान मौका कुरेर बसेका छन्।
‘गौतमको पार्टी पूर्वनेकपा एमालले त समाजबाद उन्मुख लोकतन्त्र अंगालेर संविधानमै उल्लेख भैसक्यो। के को जबज भन्नु ?’ ति विश्लेषकले भने,‘२०४७ सालमै औचित्य सकिएको जबजको सिद्धान्त अहिले बोक्छु भन्नु बेमौसमी बाजा हो।’
पार्टी फुटिसकेको अवस्थामा अहिले सम्म गौतम कुनै समूहमा नलाग्नु भनेको अवसरका लागि कुरेर बसेको बुझाई ति विश्लेषकको छ।
गौतम जस्तै केही समय तठस्त बसेका गृहमन्त्री रामबहादुर थापा भने ओली समूहमा गैसकेका छन्।
पुष १२, २०७७ आइतबार १८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।