यो देश ओली र भण्डारीको निजी सम्पत्ति होइन : डा. केसी

यो देश ओली र भण्डारीको निजी सम्पत्ति होइन : डा. केसी

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै आपत्ति जनाएका छन्।
 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले यो देश प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निजी सम्पति नभएकोसमेत बताएका छन्।

‘यो देश प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीको निजी सम्पत्ति होइन। यसैगरी कुनै बेला देशलाई आफ्नो सम्पत्ति सम्झेका राजा ज्ञानेन्द्रलाई नागरिकले कसरी थान्को लगाए, त्यो कसैले नबिर्से हुन्छ’,उनले विज्ञप्तिमा भनेका छन्।

अहिलेको संविधान सर्वसाधारणले रगत र पसिना बगाएर, प्राण अर्पेर ल्याएको औंल्यादै केसीले नेताहरूको चोंचोमोंचो र गठजोडले गणतन्त्र स्थापना नभएको बताएका छन्। 

‘यो संविधानलाई आफ्नो स्वार्थको फुटबल बनाउनेहरूलाई कुनै पनि हालतमा त्यस्तो कुकर्मका लागि दण्डित गर्नु पनि हाम्रो नागरिक कर्तव्य हुन्छ’ केसीले भनेका छन्।

सरकारले चालेको असंवैधानिक कदमलाई न्यायालयले सच्याउने उनको भनाई छ। न्यायालयले जस्तो फैसला गरे पनि सत्ताको उन्मादमा रहेका व्यक्तिहरूको प्रहारबाट विधिको शासन र संविधानलाई जोगाउने जिम्मेवारी हामी नागरिकसामु सदा रहने विज्ञप्तिमा उल्लेख छ।

‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर चालिएको यस्ता कदमलाई न्यायालयले सच्याइदिनेछ भन्ने नागरिकहरूको अपेक्षा छ। यससँगै देशको न्यायालय पनि अग्नि परीक्षामा छ’, उनले भनेका छन्।

सत्तारुढ दलको ओली गुटबाहेक अन्य गुट र दलका नेताहरुलाई पनि आफू सत्ताबाट लखेटिएको बेला मात्रै विधिको शासन याद आउने विडम्बनापूर्ण अवस्था अन्त हुनुपर्ने केसीको भनाई छ।

संविधान र विधिको शासनलाई निःशर्त स्थापित गर्न सके मात्रै सबैको कल्याण हुने हुँदा त्यसका लागि निरन्तर सक्रिय हुन उनले सबैलाई अपील गरेका छन्।

पुष १२, २०७७ आइतबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।