बुटवलको अस्पतालबाट भागे कोरोना संक्रमित 

बुटवलको अस्पतालबाट भागे कोरोना संक्रमित 

बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुष भागेका छन्। 

अस्पतालका अनुसार गत बुधबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल उपमहानगरपालिका–१३ का ५५ वर्षीय पुरुष आज (आइतबार) बिहान शौचालयबाट भागेका हुन्। 

बेलाबेलामा अस्वाभाविक व्यवहार देखाउने ती पुरुष आज बिहान ५ बजेतिर पिसाव फेर्ने बहानामा शौचालय गएको र त्यहाँबाटै जंगलतिर भागेको अस्पतालका कर्मचारीले बताएका छन्। 

ती पुरुष भागेको थाहा पाएपछि अस्पतालका कर्मचारी र कुरुवाहरूले उनको पिछा गरेको भए पनि जंगल पसिसकेकाले फेला पार्न नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक एवं कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए। 

अस्पतालबाट भागेपछि ती पुरुषले परिवारका सदस्यहरूलाई फोन सम्पर्क गरेको र त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। 

ती पुरुषले मानसिक रोगको औषधी सेवन गरिरहेकाले अस्पताल प्रशासनलाई निगरानीका लागि भनिएको परिवारका सदस्यहरूलाई उध्दृत गर्दै प्रहरीले जनाएको छ। तर, अस्पताल प्रशासनले ती पुरुषलाई विशेष निगरानीमा राखेको दाबी गरेको छ। सुरक्षाकर्मी आराम गरिरहेका बेला ती पुरुष भागेकाले समात्न नसकएिको अस्तपालको भनाइ छ। 
 

पुष १२, २०७७ आइतबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।