रोजगारी सिर्जना र ठगी नियन्त्रणलाई प्राथमिकता : मन्त्री चौधरी
काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।
मन्त्रालयमा आज (आइतबार) बिहान पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वैदेशिक रोजगारीमा आएको संकुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताएका हुन्।
‘कोरोनाले व्यापार–व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लाग्छु,’ उनले भने ।
मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनु पर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढंगबाट कार्यान्वयनमा लैजाने बताए। साथै उनले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्यका लागि आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित बनाउन लागि पर्ने बताए। वैदेशिक रोजगारीमा देखिएको ठगी नियन्त्रण गर्न आफू खरोरूपमा उत्रने उनको भनाइ छ।
पुष १२, २०७७ आइतबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।