विदेशमा कोरोना संक्रमित ९४.५ प्रतिशत नेपाली निको 

विदेशमा कोरोना संक्रमित ९४.५ प्रतिशत नेपाली निको 

लण्डन : विदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेपालीमध्ये ९४.५ प्रतिशत निको भएका छन्। 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार आठ सय ७२ जना नेपालीमा कोरोना संक्रमित भएकोमा ४९ हजार आठ सय ९२ जना निको भएका छन्।विदेशमा कोरोना संक्रमित तीन सय १२ जनाको मृत्यु भएको समितिले जनाएको छ। 

समिति संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना संक्रमित नेपालीको मृत्यु भएको छैन। 

नेपालमा कोरोना संक्रमित एक हजार आठ सय १९ जनाको मृत्यु भइसकेको छ।

विश्वभरका गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्धको खोप

विदेशमा रहेका गैरआवासीय नेपालीहरूले कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेका छन्। पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत नेपालीहरूले खोप लगाउन थालेका हुन्। हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीहरूले कोरोना विरुद्धको खोप लगाइरहेको संघले जनाएको छ।

‘नयाँ प्रकारको भाइरसबाट बचौं’ 

बेलायतमा नयाँ स्वरूपमा कोरोना भाइरस संक्रमण तीव्ररूपमा फैलिएसँगै अहिले सर्वत्र चिन्ता बढेको छ। 

डा. सापकोटाका अनुसार चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म धेरैपटक म्युटेसन (उत्परिवर्तित) भएर अर्थात् त्यसको गुणहरूमा धेरै परिवर्तन भएर नयाँ स्ट्रेन (स्वरुप)हरू बनिसकेको अवस्था छ।

अध्ययन अनुसार उत्परिवर्तित भाइरस पुरानो भाइरसको तुलनामा लगभग ७० प्रतिशत छिटो फैलिएको पाइएको छ। हाल लन्डन र दक्षिण पूर्वी बेलायतमा कोरोना संक्रमित ४५ देखि ७० प्रतिशत बिरामीमा यो उत्परिवर्तित भाइरस देखिएको छ। 

युरोपेली संघ अन्तर्गतका ८ मुलुकहरू सहित केही अफ्रिकी मुलुकहरूमा पनि यो भाइरस तीव्ररूपमा फैलिएको पाइएको भन्दै समितिले अत्यावश्यक बाहेकका यात्रा नगर्न त्यहाँस्थित नेपालीहरूलाई अनुरोध गरेको छ।

डा. सापकोटाका अनुसार हाल बनिरहेका खोप अन्तिम परीक्षणमा छन्। तर, ती खोपले उत्परिवर्तित भाइरसविरुद्ध काम गर्छ कि गर्दैन भन्ने सर्वत्र चासो छ। यस्तो अवस्थामा स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ। 

केही युरोपेली मुलुकहरू र बेलायतमा हाल लकडाउन र कडा खालको प्रतिबन्ध लगाइएकाले समस्या परे त्यहाँस्थित गैरआवासीय नेपाली संघ अन्तर्गतका राष्ट्रिय समन्वय परिषद्मा सम्पर्क गर्नसमेत समितिले आग्रह गरेको छ।

डा. सापकोटाले भीडभाडमा नजान, जानु परे पनि दुई मिटरको दूरी कायम राख्न, बाहिर जाँदा अनिवार्यरूपमा मास्क लगाउन र साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न सुझाव दिएका छन्। 

पुष १२, २०७७ आइतबार ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।