प्रदेश १ मा दाहाल-नेपाल पक्षका तीन मन्त्रीले दिए राजीनामा

प्रदेश १ मा दाहाल-नेपाल पक्षका तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई पदबाट बर्खास्त गरेको भोलिपल्ट तीन मन्त्रीले राजीनामा दिएका छन्।

राजीनामा दिनेमा प्रदेश सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास छन्। तीनै जना दाहाल-नेपाल पक्षका हुन्।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भैरहेको बुझिएको छ।

आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै मुख्यमन्त्री राईले हिजो (शनिबार) साँझ मन्त्री आङ्बोलाई पदबाट बर्खास्त गरेका थिए। यसअघि रामबहादुर थापा समूहमा रहेका आङ्बो संसद विघटनपछि थापाको साथ छाडेर दाहाल-नेपाल समूहमा लागेका छन्।

कूल ९३ सिट रहेको प्रदेशसभामा नेकपाका मात्रै ६७ सांसद छन्। पार्टी विभाजनपछि ओली समूह अर्थात् शेरधन राईको पक्षमा २२ जना मात्रै छन्। दाहाल-नेपाल समूहले आफूहरूसँग ४० भन्दा बढी सांसद् रहेको दाबी गरेको छ। 

पुष १२, २०७७ आइतबार १०:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।