ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा डढेलो 

ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा डढेलो 

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले मन्दिरको दक्षिणपट्टिको थावाखोला सामुदायिक वनमा बिहान ९ बजेदेखि डढेलो लागेको जानकारी दिए। उनका अनुसार तीव्र हावाका कारण डढेलो तीव्ररूपमा फैलिरहेको छ। 

डढेलो नियन्त्रणका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २० जना प्रहरीको टोली वन क्षेत्रमा पुगिसकेको उनले जानकारी दिए। ‘प्रहरीले डढेलो नियन्त्रणका लागि काम सुरु गरिसकेको छ। तर, तीव्र हावा र पानी अभावले नियन्त्रणमा समस्या देखिएको छ,’ उनले भने, ‘स्याउला, ढुंगा–माटो हालेर प्रहरीले डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्।’

उनले मन्दिर क्षेत्रमा डढेलो पुग्न नदिने गरी काम भइरहेको बताए।  

डढेलो नियन्त्रणका लागि प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र प्रहरी र मेजरको नेतृत्वमा नेपाली सेनाको टोली वन क्षेत्रतर्फ गइरहेको उनले जानकारी दिए। 

पुष ११, २०७७ शनिबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।