वामदेव फकाउन सफल होलान् त दाहाल ?
कुनै पनि गुटमा नलागेका गौतमलाई फकाउन दाहालले शनिबार आफ्नै निवासमा बोलाएर छलफल गरेका छन्। संसद् विघटन र पार्टी विभाजनको अवस्थाबारे दुई नेताबीच छलफल भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद् विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएको बुझिएको छ। सुरुमा कुनै पनि गुटको भेलामा नगएका गृहमन्त्री रामबहादुर थापा पछि ओलीतर्फ लागेपछि दाहाल नेपाल समूह गौतमलाई जसरी पनि आफ्नो समूहमा ल्याउने कसरतमा जुटेको छ।
गौतम भने कुन समूहले आधिकारिकता पाउँछ भन्ने मौका कुरेर बसेका छन्। यसअघि पटक–पटक ओलीबाट धोका पाएका गौतम दाहाल–नेपाल समूहप्रति नजिक रहेको बुझिएको छ। यस्तै, दाहाल–नेपाल पक्षको सचिवालय बैठक पेरिसडाँडामा बस्न लागेको छ।
बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी हुँदैछन्।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षको घोषित कार्यक्रम अनुसार आज (शनिबार) प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने र भोलि आइतबार ७७ वटै जिल्लामा कार्यकर्ता भेला हुने छ।
भेलाले प्रतिगमनविरुद्ध संघर्ष अगाडि बढाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
पुष ११, २०७७ शनिबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।