दाहालको दाबी– संसद् विघटन तयारीबारे बिहानै चाल पाएको थिएँ

दाहालको दाबी–  संसद् विघटन तयारीबारे बिहानै चाल पाएको थिएँ

दाहाल–नेपाल समूहले काठमाडौंको बबरमहलमा शुक्रबार पत्रकार सम्मेलनमा दाहालले पुस ५ गते बिहान साढे ५ बजे संसद् विघटनको तयारीबारे थाहा पाएको खुलाए। त्यसलगत्तै ओलीलाई संसद् विघटनको निर्णय नलिन आग्रह गरेको तर उनले नमानेको दाहालको दाबी छ। 

संसद् विघटनविरुद्ध पहिलो चरणको आन्दोलनपछि पनि सकारात्मक नतिजा ननिस्किए थप सशक्त आन्दोलन गर्ने दाहालले बताए। दाहाल नेपाल समूहले पुस २५ गतेसम्मपहिलो चरणको आन्दोलन तथा संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ।

उनले संसद् विघटन कदम सफल नहुनेमा विश्वस्त रहेको बताए। ओली कहिल्यै पनि इमान्दार नरहेको उनो आरोप छ। 

दाहालले ४४१ जना नेकपाका आधिकारिक केन्द्रीय सदस्यमध्ये आफूहरुलाई ३१५ जनाको समर्थन भएको दाबी गरे। २९५ जना केन्द्रीय समितिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएकाले आफ्नो बहुमत भएको दाहालले जिकिर गरे। 

आवश्यक परे आफ्नो पक्षका सबै केन्द्रीय सदस्य निर्वाचन आयोगमा पुग्ने दाहालले बताए। निर्वाचन आयोगले आफूहरुलाई आधिकारिकता दिने विश्वास दिएको उनको भनाइ छ।  

दाहालले अदालतप्रति भरोसा भएको भन्दै अदालतले संसद् विघटनको विरुद्धमा फैसला लिने विश्वास व्यक्त गरे। 

ओलीको संविधान विरोधी गतिविधि गरेको देख्दा आफू भयभित भएको दाहालको भनाइ छ। नेपालमा निर्ममतापूर्वक विधि मिचिएको कुरालाई पनि दाहालले स्मरण गराए ।

पत्रकार सम्मेलनमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले ओली संघीयता र लोकतन्त्र विरोधी भएको आरोप लगाए।

ओलीले कम्युनिस्ट सिद्धान्त र लोकतन्त्रलाई नै तहसनहस बनाएको नेता नेपालको आरोप छ। उनले भने, ‘ओली कम्युनिस्ट विचारबाट पतनको बाटोमा जानुभयो।’ 

ओलीले कम्युनिस्ट आन्दोलन सिध्याउने खतरा रहेको नेपालको आरोप छ। 

त्यसैगरी, नेकपाका नेता झलनाथ खनाले नेकपा फुटेको नभई चोइटिएको तर्क गरे। खनालले भने, ‘नेकपा जस्ताको तस्तै छ, फुटेको छैन।’ 

नेता खनालले पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत आवश्यक हुने भएकाले फुटाउन नमिल्ने बताए। 

पुष १०, २०७७ शुक्रबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।