अश्लिल साइटमा भिडियो अपलोड, हटाउन बार्गेनिङ

अश्लिल साइटमा भिडियो अपलोड, हटाउन बार्गेनिङ

काठमाडौं : सामाजिक सञ्जालको दुरुपयोग गर्दै महिलालाई अश्लिल सामग्री पठाएर हैरानी तुल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

अश्लिल साइटमा भिडियो अपलोड गर्ने, महिलाहरुलाईअश्लिल सन्देश, तस्वीर पठाएर हैरानी तुल्याउने मकवानपुर, हेटौडा उपमहानगरपालिका–४, पारिजात पथ वस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।

अन्सारीले मकवानपुर घर भई थाईल्याण्ड बस्ने एक महिलाको अर्ध नग्न तथा नग्न तस्वीर, भिडियो पोर्नसाईट समेतमा अपलोड गरेर रकम बार्गेनिङ गरेको प्रहरीको साइबर व्यूरोले जनाएको छ। 

उनले साइटबाट भिडियो हटाउन १०९८ डलर माग गरेको अनुसन्धानबाट खुलेको व्यूरोले जनाएको छ। 

उनले विभिन्न फेकआईडी तथा ईमेल बनाई बिद्युतीय उपकरण एवं ईन्टरनेटको दुरुपयोग गरेको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

उनले थुप्रै महिला साथीहरुलाई सामाजिक संजालको दुरुपयोग गरी यौनजन्य हिंसा गरेको उजुरी परेको व्यूरोले जनाएको छ।

यस्तै फेसबुकमा एक महिलाको नक्कली आइडी बनाएर उनैका आफन्त तथा नजिकका साथीहरुलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्विर पठाउने, यौनअश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी हैरानी गर्ने गोरखा, सुलिकोट गाउँपालिका–५ बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने २० वर्षीय रोलक वहादुर थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीबारे पनि थप अनुसन्धान भैरहेको व्यूरोले जनाएको छ।

पुष ९, २०७७ बिहीबार १६:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।