कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ गते देशभर प्रदर्शन गर्ने 

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ गते देशभर प्रदर्शन गर्ने 

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते सरकारको असंवैधानिक कमदकाविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो। 

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने बैठकले निर्णय गरेको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले गत आइतबार प्रतिनिधिसभा भंग गरेकी थिइन्। उक्त कदमलाई कांग्रेसले असंवैधानिक भनेको छ। 

बिहीबार नै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यको भेलाले सरकारविरूद्ध आन्दोलनमा जाने निष्कर्ष निकालेको थियो।

मंगलबारदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा अहिले केन्द्रीय सदस्यहरूले बैठकमा धारणा राखिरहेका छन्।  

पुष ९, २०७७ बिहीबार १५:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।