आन्दोलनका लागि सभापतिलाई दबाब दिने पौडेल पक्षको निर्णय

आन्दोलनका लागि सभापतिलाई दबाब दिने पौडेल पक्षको निर्णय

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्ध देशभर आन्दोलन चर्काउनुपर्ने निष्कर्ष निकालेको छ। 
 

पौडेल पक्षका केन्द्रीय सदस्यहरूको बिहीबार अनामनगरमा बसेको भेलाले ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णयविरुद्ध पार्टीले देशभर आन्दोलन चर्काउनुपर्ने निचोड निकालेको हो।

आन्दोलनमा जानुपर्ने प्रस्ताव आजको केन्द्रीय समिति बैठकमा पेश गर्ने निष्कर्ष भेलाले निकालेको भेलामा सहभागी केन्द्रीय सदस्य गगन थापाले जानकारी दिए।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र निर्वाचनको तयारीमा लाग्ने कि सडक आन्दोलनमा जाने भन्नेमा बैठकमै चर्काचर्की भएपछि पौडेल पक्षले छुट्टै भेला गरी केन्द्रीय समितिमा आन्दोलनको प्रस्ताव लग्दैन लागेको हो। 

भेलाले ७७ वटै जिल्लामा नै संसद विघटनको बिरुद्धमा आन्दोलन गर्न केन्द्रीय समितिमा प्रस्ताव लैजाने निणर्य गरेको थापाले जानकारी दिए।

पार्टीको जारी केन्द्रीय समितिमा सो विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्ष बिच चर्काचर्की पर्दै आइरहेको छ। 

केन्द्रीय समितिमा सस्थापन पक्ष संसद विघटनबारे सर्वोच्च अदालतको निर्णय कुरेर थप कदम चाल्नु पर्ने पक्षमा उभिंदै आएको छ। 

पौडेल पक्षीय नेताहरु भने संविधान विपरित तथा लोकतन्त्रको मर्म विपरित सर्वसत्तावादी सोचबाट प्रेरित भएर  संसद विघटनको निणर्य गरिएको भन्दै सडक आन्दोलनमा उत्रनु पर्ने पक्षमा उभिएका छन्।

बैठकमा पौडेल, महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी तथा कृष्णप्रसाद सिटौला पक्षका गगन थापा र प्रदिप पौडेल लगायतका नेता सहभागी थिए।

पौडेल पक्षमा कांग्रेसका २७ जना केन्द्रीय सदस्य छन्।

प्रधानमन्त्रीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए।

प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको ठहर कांग्रेसले गरिसकेको छ। तर, आन्दोलनका कार्यक्रम ल्याइसकेको छैन।
 

पुष ९, २०७७ बिहीबार १५:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।