नेकपाको दुवै समूहको केन्द्रीय समिति बैठक आज
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहको केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दै छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक बिहान ११ बजे बस्दै छ।
बैठक बबरमहलस्थित कार्की प्यार्टी प्यालेसमा बस्ने पार्टी केन्द्रीय सदस्य शत्रुघ्न महतोले जानकारी दिए। उनले भने, ‘बैठकमा मंगलबारकै बाँकी एजेन्डामाथि छलफल हुने छ।’
त्यसैगरी, पार्टीका अर्का अध्यक्ष केपी ओली समूहको बैठक भने दिउँसो १ बजे बस्ने तय भएको ओली निकटका नेता खगराज अधिकारीले जानकारी दिएका छन्।
यसअघि हिजो नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको नेपाल–दाहाल समूहको संसदीय दलको बैठकले संसदीय दलको नेतामा दाहाललाई चयन गरेको छ। त्यसको अघिल्लो दिन (मंगलबार) बबरमहलमा भएको नेपाल–दाहाल समूहको केन्द्रीय समिति बैठकले अध्यक्ष ओलीलाई पदबाट हटाएर पार्टी अध्यक्षमा नेता नेपाललाई चयन गरेको थियो।
त्यसैले आज हुने दुवै पक्षको बैठकलाई चासोको साथ हेरिएको छ। बहुमत सदस्यको कारबाहीमा परेका ओली आज आफ्नो पक्षको बैठकमा कस्तो रणनीति लिन्छन् भन्ने चासोको विषय छ।
पुष ९, २०७७ बिहीबार ०९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।