‘षड्यन्त्रको खेलमा ओली’
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ। पुष्पकमल दाहाल र नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको भेलाले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरिसकेको छ। यसै सन्दर्भमा दाहाल–नेपाल पक्षका तीन जना केन्द्रीय सदस्यको विचार उपेन्द्र खड्काले प्रस्तुत गरेका छन्।
दिल्ली–दरबारको षडयन्त्रमा ओलीको कदम
प्रकाश शाह, केन्द्रीय सदस्य
दिल्ली–दरबारको षडयन्त्रमा, देशी–विदेशीको षड्यन्त्रमा संविधानको मर्म र भावना विपरित संसदको विघटन गर्ने काम भएको छ। भारतीय जासुसी सस्था ‘रअ’ को चिफ आएर मध्यरातमा बालुवाटारमा बैठक गरेर संविधानलाई अपदस्थ गर्ने, संविधानमाथि ‘कु’ गर्ने, संसदको विघटन गर्ने निर्देशन मुताविक बालुवाटारले कदम चाल्यो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ‘कु’ गर्नुभयो। नेपाली जनताको विश्वासमाथि लात हान्नुभयो। संविधान र नेकपाको विधानलाई नै हस्तक्षेप गरेर नेपाल राष्ट्र, नेपाली जनता र सिङ्गो कम्युनिष्ट आन्दोलनको खिलापमा आफूलाई उपस्थिति गर्नुभएको छ। त्यसैले पार्टीको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदको जिम्मेवारीबाट हटाउने कारवाही गरेको छ।
इतिहासमा देश, जनता र पार्टीलाई घात गर्ने, गद्धारी गर्ने पात्रहरु विगतमा पनि देखिएका थिए।
यो बिल्कुलै गैह्रजिम्मेवार, अलोकतान्त्रिक र संविधान विरोधी कदम भएको छ। सबै राजनीतिक दलले यसको विरोध गरेका छन्। मलाई विश्वास छ, यो कदम परास्त हुन्छ। यो कदम देशभक्त नेपालीले स्वीकार्दैनन्। परास्त गरेरै छाड्छन्।
‘अयोग्यहरुको झुण्डले ओली एक्लिनुभयो’
रामकुमारी झाँक्री, केन्द्रीय सदस्य
हामीले उहाँ (केपी ओली) लाई के घेराबन्दी गर्छौं ? उहाँले अयोग्य मान्छेहरुको झुण्ड राखेर चल्नुभयो। उहाँ (अेली) अयोग्य मान्छेद्दारा घेराबन्दी भएको हो। उहाँ आफै घराबन्दीमा पर्नुभयो। किनकी उहाँ कसैलाई सुन्नुहुन्न। कसैलाई विश्वास गर्नुहुन्न। उहाँ सर्वज्ञाता जसरी प्रस्तुत हुनुभयो। त्यसैले एक्लिनुभयो।
४४१ मध्ये ३१५ जनाको उपस्थितिमा केन्द्रीय कमिटीका बैठक गरेका छौं। संविधान विपरित काम गर्ने अर्का अध्यक्ष (केपी ओली) लाई कारवाही गर्यौं। कानुनी रुपमा, सैद्धान्तिक रुपमा, विधानको हिसाबले, संवैधानिक हिसाबले हामी (दाहाल–नेपाल समूह) पार्टीको मेस्ट्रिम हो।
प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्षले गैह्रसंवैधानिक, गैह्रराजनीतिक र एक हिसाबले छलछाम तथा कपटपूर्ण काम गरेर जनताको जनमत र जनविश्वासमाथि कुठाराघात गर्नुभयो। पार्लियामेन्टमा डिजर्प गर्ने कुरा गर्नुभयो। उहाँको यो कदम निन्दनिय छ। खेदजनक छ।
उहाँको त्यो कदमका विरुद्ध हामी राजनीतिक तथा कानुनी रुपमा लड्ने भनेका छौं ।
‘नेकपा फुटेको हैन, मान्छे चोइटिएका हुन्’
शत्रुघ्न महतो, केन्द्रीय सदस्य
.jpg)
नेकपा फुटेको हैन। नेकपाबाट केही मान्छेहरु चोइटिएर गएका छन्। गुटको भेला भएको होला। नेकपाको बैठकले विधिविधान विपरित काम गर्ने अध्यक्ष (ओली) लाई केन्द्रीय कमिटीको बैठकले कावारही गरेको छ। मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा दुईतिहाई भन्दा बढी हस्ताक्षर भएको छ। अझैँ बढ्नेक्रम छ।
नेकपाले असंबैधानिक किसिमले संसद विघटन गर्ने काम भएको छ। नेकपाले त्यसको विरुद्धमा प्रतिवाद गर्छ। संसद मरेकै छैन। संसद विघटन गर्ने यो संबिधानको भावना नै हैन।
संविधान विघटन गर्ने प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्दैन। मलाई लाग्छ सर्वोच्च अदालतबाट यो रिजेक्ट हुन्छ।
पुष ८, २०७७ बुधबार २०:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।