‘राष्ट्रिय स्वाधीनतामाथि समस्या पैदा भयो’ 

‘राष्ट्रिय स्वाधीनतामाथि समस्या पैदा भयो’ 

भैरहवा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं संघीय संसदको संसदीय दलका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर प्रकारका समस्या पैदा भएको जिकिर गरेका छन्। 

भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा बिहीबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै गुरुङले भने, ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय दृष्टिकोणले हेर्दा मुलुकको स्वाधीनतामाथि नै समस्या भएको छ। हामीलाई स्वाधीनता जोगाइराख्न चुनौती छ,’ उनले भने।

तर, मुलुकमा कस्ता समस्या पैदा भए भन्नेबारे उनले केही खुलाएनन्। 

उनले प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न चुनौती रहेकाले त्यसलाई सबैले सामना गर्नु पर्ने बताए। उनले मुलुकमा देखा परेका समस्या समाधानका लागि जनता पनि एकताबद्ध भइ अगाडि बढ्नु पर्नेमा जोड दिए।

पूर्वमन्त्रीसमेत रहेका गुरुङले विद्यमान अवस्थामा पार्टीभित्र र बाहिर राजनीतिक र वैचारिक समस्याहरू भए पनि ती समस्या छलफलबाटै समाधान हुने विश्वास व्यक्त गरे।

‘पार्टीमा छलफल, बहस र अन्तरक्रिया चलिरहेको छ। अहिले उठेका विषयवस्तुलाई नकारात्मकरूपमा नभइ सकारात्मकरूपमा लिनु पर्छ। अहिलेको बहसले पार्टीलाई थप बलियो बनाउने मेरो विश्वास छ,’ उनले भने। 

कतिपय विषयहरू पार्टी पंक्तिबाट निकास हुन नसकेको अवस्थामा त्यसबारे सार्वजनिकरूपमा छलफल पनि हुने उनले बताए। 
छलफल र बहसले पार्टीको आन्तरिक र बाह्य जीवनमा पनि सकारात्मक प्रभाव पार्ने उनले बताए।

कम्युनिस्ट पार्टीभित्र बहस र छलफल चलिरहने र लोकतान्त्रिक विधिबाट अगाडि बढे छिटो सकारात्मक परिणाम आउने उनले बताए। 

गुरुङले लोकतान्त्रिक विधिबाट नगएर एक–अर्कालाई निषेध गरे त्यसले नकारात्मक परिणामसमेत ल्याउनसक्ने जनाउ दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकबाट राजीनामा मागेको हो÷होइन भन्ने पत्रकारको प्रश्नमा गुरुङले पार्टी जीवनमा यस्ता विषय सामान्य भएको प्रतिक्रिया दिए।

पुष २, २०७७ बिहीबार १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।