अवैध बालुवाखानीबारे समाचार लेख्दा पाठकलाई ज्यान मार्ने धम्की
काठमाडौं : बुढानिलकण्ठ नगरपालिकामा भैरहेका अवैध बालुवा उत्खनन् तथा डाँडो भास्ने, खोला मास्ने विषयमा समाचार लेखेको भन्दै सञ्चारकर्मी केशवराज पाठकलाई ज्यान मार्ने धम्की आएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित कौडोलमा रहेको एक प्लटिङ नजिक वनमा दुई जना मुखुण्डो लगाएका मानिसले ‘तैले ज्यान फाल्न निहुँ खोजिस्, अब के–के हुन्छ हेर्दै जा’ भनेर धम्की दिएका थिए।
कालो रंगको २८२९ नम्बरको मधुर अक्षरले लेखिएको मोटरसाइकलमा बाटो ढुकेर बसेका दुई जना नै हरियो रंगको नकाब लगाएका व्यक्तिहरूले काठमाण्डुखबरडटकमका प्रधानसम्पादक पाठकलाई धम्की दिएको अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले बताए।
धम्की दिएपछि पाठकले स्थानीय प्रहरी प्रशासनमा शान्तिसुरक्षाको लागि निवेदन दिएका छन्। समाचारको विषयलाई लिएर पत्रकार पाठकलाई ज्यान मार्ने धम्की दिनु विद्यमान कानुन र प्रेस स्वतन्त्रताको उल्लंघन भएको भन्दै संघले पाठकलाई धम्की दिनेहरुको पहिचान गरी यथाशीघ्र कानुनी कारबाही गर्न माग गरेको छ।
पुष २, २०७७ बिहीबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।