किसानको रकम नतिर्ने चिनी मिल संचालक विरुद्ध पक्राउ पुर्जी जारी

किसानको रकम नतिर्ने चिनी मिल संचालक विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : उखु किसानको बक्यौता रकम नतिर्ने दुई चिनी मिलका सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। 
 

जिल्ला प्रशासन कार्यालय रौतहटले बुधबार श्रीराम सुगर मिलका दुई जना सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी गरेको जनाएको छ। 

श्रीराम सुगर मिलका हितेश गोल्छा र विनोद अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदले जानकारी दिए। 

उनीहरू दुवै जनाविरूद्ध गृह मन्त्रालयको निर्देशन अनुसार पुर्जी जारी गरेको उनले जानकारी दिए।
उनका अनुसार दुवै जना हाल काठमाडौंमा भएको बुझिएको छ।

काठमाडौंकै प्रहरीलाई पक्राउ गरिदिन निर्देशन दिएको प्रजिअ यादवले बताए। 

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार मंगलबार अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेशकुमार अग्रवाललाई पक्राउ गर्न पुर्जी जारी भएको हो।

उनलाई मंगलबार गृह मन्त्रालयको निर्देशन आएपछि नै पक्राउ पुर्जी जारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। 

लामो समय देखि किसानलाई उखुको बक्यौता रकम भुक्तानी नगर्दा किसानहरु काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन्।

गृहमन्त्रालयले रकम भुक्तानी नदिने मिल संचालकलाई आवश्यक कारबाही गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। 
 

पुष १, २०७७ बुधबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।