‘राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावबाट हटाऔं’ 

‘राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वास प्रस्तावबाट हटाऔं’ 

तरूण दलका अध्यक्ष जितजंग बस्नेतले आज (बुधबार) विज्ञप्ति जारी गर्दै राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वास प्रस्ताव ल्याएर पदबाट हटाउन माग गरेका छन्। 

सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि त्यसको विरोधमा तरूण दलले विज्ञप्ति जारी गरेको हो। 

‘राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनु पर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट हटाइ मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्छ,’ अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा सरकारले महिनौंदेखि संसदलाई बन्धक बनाएको आरोप लगाइएको छ। उपसभामुख पद खाली राखेर प्रधानमन्त्रीले स्वेच्छाचारी तरिकाले अध्यादेश ल्याएको तरूण दलको आरोप छ। 

‘स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत छ। त्यसैले उक्त अध्यादेश तुरुन्त फिर्ताका लिन र जारी अध्यादेशलाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न तरुण दल केन्द्रीय समिति अनुरोध गर्छ,’ विज्ञप्तिमा भनिएको छ। 

पुष १, २०७७ बुधबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।