अध्यादेशले ल्याएको तरंग : चुप लागेर नबस्ने मन्त्रीकै चेतावनी, असन्तुष्ट नेता दाहाल निवासमा
आफुहरुलाई थाहै नदिई अध्यादेश ल्याएको भन्दै केही मन्त्रीहरुले अब चुप लागेर नबस्ने प्रधानमन्त्रीलाई चेतावनीसमेत दिएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा अध्यादेशबारे कुनै छलफल नै नभएको खानेपानी मन्त्री बिना मगरले बताइन्।
सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे आफुहरुलाई थाहै नदिएको उनले जानकारी दिइन्।
मगरले सरकारले एकलौटी रुपमा ल्याएको अध्यादेशमा आफूहरुको सहमति नभएको प्रष्ट पारेकी छन्।
उनले सभामुख अग्नि सापकोटा र मन्त्रिपरिषद्का सबै मन्त्रीलाई चित्त नबुझाई गरिएको विधेयकमा असहमति रहेको बताएकी छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकलौटी रुपमा ल्याइएको अध्यादेशप्रति चुप लागेर नबस्ने चेतावनी दिएकी छन्।
यस्तै कृषि मन्त्री घनश्याम भुसालले पनि बैठकमा अध्यादेशको विषय नउठेको बताए।
यस्तै उर्जा मन्त्री बर्षमान पुनले पनि आजको मन्त्रिपरिषद बैठकमा मात्र नभएर यसअघिका बैठकमा पनि अध्यादेशको विषयमा निर्णय र छलफल नभएको बताए।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छिन्।
सामान्यता मन्त्रिपरिषदबाट पारित भएपछि अध्यादेश राष्ट्रपतिबाट जारी हुन्छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा छलफल समेत नगराई अध्यादेश अगाडि बढाएका हुन्।
यस्तै पार्टीमा छलफल नगरी प्रधानमन्त्रीले एकलौटी निर्णय लिएर अध्यादेश जारी गराएको भन्दै छलफल गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा असन्तुष्ट नेताहरु भेला भएका छन् ।
नेकपाका नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल पनि सहभागी रहेको बुझिएको छ।
राष्ट्रपतिले संवैधानिक अध्यादेश जारी गरेपछि प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै अध्यादेश तत्काल खारेज हुनुपर्ने माग राखेका छन्।
त्यस्तै झलनाथ खनालले नेकपा स्थायी कमिटीको बैठक जारी रहेका बेला पार्टीलाई कुनै सूचना नै नदिइ गरिएका सरकारका यस्ता क्रियाकलाप आपत्तिजनक रहेको बताएका छन्।
मंसिर ३०, २०७७ मंगलबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।