अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु
अमेरिकामा कोरोना भाइरसको अग्रपंक्तिमा खटिएकाहरुलाई फाइजर र बायोएनटेकद्वारा संयुक्त रूपमा विकास गरिएको कोरोना खोप लगाएर अभियान सुरु गरिएको हो।
समाचार एजेन्सीका अनुसार कोरोनाको पहिलो खोप न्यूयोर्कको एक अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा कार्यरत नर्स सान्द्र लिन्डसेलाई लगाइएको छ। उनलाई न्युयोर्कको क्विन्समा रहेको लङ आइल्यान्ड जेविस मेडिकल सेन्टरमा खोप दिइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
लिन्डसेले खोप लगाएको केही मिनेटमै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटमा लेखेका छन्, ‘पहिलो खोप सम्पन्न, अमेरिकालाई बधाई, विश्वलाई बधाई ।’
अमेरिकाले यो खोपको आपतकालीन प्रयोगका लागि गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो।
अमेरिकाले आगामी अप्रिलसम्म १० करोडलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको बिबिसीले जनाएको छ। यो खोप ९५ प्रतिशत सुरक्षित रहेको बताइन्छ।
अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। कोरोना संक्रमणबाट त्यहाँ करिब तीन लाख जनाको मृत्यु भइसकेको बिबिसीले जनाएको छ ।
मंसिर ३०, २०७७ मंगलबार ०८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।