काठमाडौं महानगरपालिकाले बाँड्यो पुरस्कारका नाममा ८८ लाख
सोमबार २६ औं स्थापना दिवस मनाएको महानगरपालिकाले पुरस्कारका नाममा ८८ लाख बाँडेको हो।
महानगरको पुरस्कार पाउनेमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी लगायत छन्।
महानगरले विभिन्न व्यक्तिलाई सुन र चाँदी जडित तक्मासहित नगद वितरण गरेको छ।
महानगरले विभिन्न सात शीर्षकमा २१३ जनालाई पुरस्कृत गरेको छ। जनप्रनिधि र कर्मचारीलाई त महानगरले एक तोला सुन र एक तोला चाँदी जडित तक्मासमेत वितरण गरेको छ।
महानगरले जनकमान सम्मान शीर्षकमा चार जनालाई जनही एक लाखका दरले चार लाख, स्थानीय गौरव महानगर सेवा पदक शीर्षकमा पाँच जना जनप्रतिनिधिलाई एक लाखका दरले पाँच लाख पुरस्कार दिएको छ।
सोही शीर्षकमा महानगरका पाँच कर्मचारीलाई एक लाखका दरले पाँच लाख पुरस्कार वितरण गरिएको छ।
स्थानीय गौरव महानगर सेवा पदक शीर्षकको पुरस्कार प्राप्त गर्ने १० जनाले एक तोला सुन र एक तोला चाँदी जडित प्रतिगोटा एक लाख पर्ने पदकसमेत प्राप्त गरेका छन्।
यस्तै प्रथम मेयर जनकमान श्रेष्ठ स्वशासन पुरस्कार चार जनाले पाएका छन्। उनीहरुले जनही एक लाखका दरले चार लाख पाएका छन्।
महानगर कर्मचारी पुरस्कार १० जनाले पाएका छन्। उनीहरुले जनही २५ हजार रुपैयाँ पाएका छन्।
महानगरले सुशासन पत्रकारिता पुरस्कारबाट १० जना पत्रकारलाई जनही ५० हजारका दरले पुरस्कृत गरेको छ।
महानगर क्षेत्रका बाजागाजा संरक्षणका लागि भन्दै महानगरले परम्परागत बाजाका १७५ जना गुरुहरुलाई जनही ३० हजारका दरले पुरस्कार वितरण गरेको छ।
मंसिर २९, २०७७ सोमबार १९:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।