कम्युनिस्ट सरकारबाट जनताले मुक्ति चाहे : देउवा

कम्युनिस्ट सरकारबाट जनताले मुक्ति चाहे : देउवा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाट जनता वाक्क भइसकेको बताएका छन्।

पार्टीले देशव्यापी रुपमा सोमबार गरिरहेको प्रदर्शनका क्रममा हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले अहिलेको सरकारबाट आजित बनेका जनताले मुक्ति चाहिरहेको बताएका हुन्।

‘केपी शर्मा ओली सरकारलाई मुक्त गराउन सक्यो भने मात्रै मुलुकको भविष्य अघि बढ्छ’ देउवाले भने, ‘देशमा एकतर्फी शासन चलाइएको छ। जनतालाई बोल्न, लेख्न र विरोध गर्नसम्म दिइएको छैन।’ 

वर्तमान सरकार सर्वसत्ताबादी बनेको भन्दै उनले यस्तो सर्वसत्ताबादी सरकार ल्याउन लडाइँ नलडेको बताए।

कोरोना महामारीबाट जनतालाई बचाउन र लोकतन्त्रको रक्षाका लागि आफूहरु सडकमा आएको प्रस्ट पार्दै देउवाले ‘अहिले मानिसहरु सडकमा राजा आऊ देश बचाऊ भनेर हिँड्दै छन्। कम्युनिस्ट सरकारबाट आजित भएर नै यस्तो भनिरहेका हुन्।’

ओलीकै कारण अहिले सडकमा राजाका पक्षमा नारा लगाउने स्थिति आएको उनले बताए। कसैले सडकमा नारा लगाउँदैमा अब राजा आउने सम्भावना नरहेकोसमेत उनले बताए। 

कोरोना महामारीका समयमा सरकार गैरजिम्मेवार भएकाले सर्वसाधारण आफैँ यसबाट बच्नका लागि सचेत हुनुपर्ने भन्दै देउवाले ‘कोरोना महामारीबाट बच्नका लागि दूरी कायम गर्नुस्, मास्क अनिवार्य लगाउनुस्।’ 

पार्टी सभापति देउवाले सम्वोधन गर्नुअघी उनीसँगै हेटौंडा पुगेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्दै सुतेको बाघलाई जिस्क्याउने प्रयत्न नगर्न चेतावनी दिएका थिए।

शर्माले कोरोना भाइरसको महामारीका बेला कांग्रेस सडकमा आउनुको कारण १ लाख रुपैयाँ अस्पतालमा जम्मा गर्न नसकेर ज्यान गुमाउनेका नेपालीको जिम्मेवार को हो भन्दै प्रश्न उठाउँन सडकमा आएको बताए।

उनले किन सरकारले कोरोना परीक्षण दर बढाएन, किन क्वारेन्टिन व्यवस्थापन भएन,किन काठमाडौंको सडकमा सुर्यबहादुर तमाङलगायतले भोक भोकै ज्यान गुमाए ? कांग्रेस यस्तै प्रश्न गर्न सडकमा आएका शर्माले बताए।

उनले भनेका छन्, एमाले र माओवादीलाई भोट दिने साथीहरु के जनता मरिरहँदा बालुवाटारमा यस्तै होस् भन्नका लागि दिनु भएको थियो। कोरोना भाइरसको माहामारीका बेला देशमा जनता स्वास्थ्य सेवा नपाएर, खाना नपाएर ज्यान गुमाइरहँदा नेकपाको सरकार सत्ता तानातान गरिरहेको उनले बताए।

नेता शर्माले जताततै भ्रष्टाचार भइरहेका बेला यसको रोकथाम र निष्पक्ष छानबिनका लागि कांग्रेस सडकमा आएको बताए। बुढीगण्डकी नेपालीको लगानीमा बनाउने निर्णय भएको तर नेकपा सरकारले चीनको एक विवादास्पद कम्पनीलाई बीना प्रतिस्पर्धा दिइयो यो भ्रष्टाचार होकी हैन् उनले कार्यक्रममा प्रश्न गरे।

त्यस्तै उनले ७० करोडको कमिसनदेखि कात्रोदेखि स्वासप्रश्वासको औषधिमा सरकारले भ्रष्टाचार गरेको आरोपको जवाफ माग्न आएको बताए।

मंसिर २९, २०७७ सोमबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।