महानगरको ‘मिर्गाैला बचाऊ अभियान’ सुरु
काठमाडौं : काठमाडौं महानगरपालिकाले टोलटोलमा चिकित्सक पठाएर ‘मिर्गाैला बचाऊ अभियान’ सुरु गरेको छ।
महानगरले २६ औं महानगर दिवसको अवसर पारेर आजबाट अभियान सुरु गरेको हो।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले मिर्गाैलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिने सन्देशसहित अभियान घोषणा गरिएको जानकारी दिए।
महानगरले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गाैलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गरिरहेको जनाएको छ।
यसका लागि दक्ष चिकित्सकको टोलीसहित ३२ वटै वडामा पुगी अभियान सञ्चालन गरिने मेयर शाक्यले जानकारी दिए।
२०५२ मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएकोे दिनलाई स्मरण गर्दै महानगरले स्थापना दिवस मनाउँदै आएको छ।
महानगरले स्वास्थ्य मापदण्डको पालना गर्दै दिवस मनाउने जनाएको छ।
दिवसलाई व्यवस्थित बनाउन काठमाडौं महानगरका प्रमुख शाक्यको अध्यक्षतामा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरू सम्मिलित मूल समारोह समिति गठन गरिएको छ।
मंसिर २९, २०७७ सोमबार १३:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।