नेपाल–भारत सीमा खोल्न माग्दै नाकामै आन्दोलन
जनकपुरधाम : कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण केही महिनादेखि नेपाल–भारतको सीमा सिल भएपछि समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन्।
प्रदेश २ को विभिन्न नाकामा केही सातादेखि धर्ना भइरहेको छ।
नेपाल–भारत खुला सीमा संवाद समूहको नेतृत्वमा भइरहेको सो धर्नामा स्थानीयवासी र मधेशवादी दलका नेताहरूको पनि सहभागिता छ।
समूहका केन्द्रीय अध्यक्ष राजिव झाले सीमा खुला नभएसम्म धर्नालगायत शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन्।
अहिले प्रदेशका ८ जिल्लाको विभिन्न नाकामा धर्ना कार्यक्रम चलिरहेको बताउँदै उनले भने, ‘कोरोनाको नाममा सरकारले नेपाल–भारत सीमामा सिल गर्ने टेस्टिङ गरेको छ।’
आन्दोलन पश्चिम नेपालको नेपालगञ्ज, भैरहवा र पूर्वी नेपालको विराटनगरमा पनि सुरु भएको छ।
सीमा नाका लामो समयदेखि बन्द रहँदा व्यापार–व्यवसाय, वैवाहिक सम्बन्ध कायम राख्न समस्या भइरहेको सीमावर्ती क्षेत्रका वासिन्दाको गुनासो छ।
महोत्तरीको कटैया छोटी भन्सार नजिक भइरहेको धर्ना कार्यक्रमका संयोजक रोशनसिंह राणाले सर्वसाधारणलाई सीमामा आउन–जान रोक लगाए पनि तस्करलाई छुट दिएको आरोप लगाएका छन्।
सीमामा साइकल र मोटरसाइकलमा तस्करी गरिरहेको देख्न सकिन्छ। प्रहरी–प्रशासनको मिलोमतोमा तस्करी हुने भएकाले नरोकिएको उनको भनाइ छ।
आन्दोलनमा सहभागी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मनोजकुमार चौधरीले सरकारले सीमा खुला नगरे आफै खुला गराउने चेतावनी दिएका छन्।
सीमामा स्वास्थ्य इकाई राखेर भए पनि सीमा खुलाउन माग गरिएको छ।
नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध छ, त्यसमा पनि नेपालको तराई–मधेससँग भारतको त्यस्तो सम्बन्ध बढी छ। तराई–मधेसका चेलीबेटीको बिहे भारतमा र भारतका चेलीबेटीको बिहे नेपालमा भएको छ।
यो सम्बन्धलाई निरुत्साहित गर्न संघीय सरकारले अनावश्यक रूपमा सीमा नाका बन्द गरेको कतिपयको आरोप छ।
मंसिर २९, २०७७ सोमबार १२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।