कांग्रेसले आज देशभर प्रदर्शन गर्ने
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशभर प्रदर्शन गर्ने भएको छ। सरकारले जनविरोधी काम गरेको भन्दै देशव्यापी प्रदर्शन गर्न लागेको कांग्रेसले जनाएको छ।
देशभर भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणलाई बेवास्ता गरी सरकारले नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेको भन्दै प्रदर्शनमा उत्रिनुपरेको कांग्रेसले जनाएको छ।
प्रदर्शनको पूर्वसन्ध्यामा पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै सरकारले अधिनायकवादी तरिकाले अघि बढेको आरोप लगाएका छन्।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरी विधेयकमार्फत अधिनायकवादी तरिकाले अगाडि बढेको, महिला हिंसा र बलात्कारका घटना रोक्न नसकेको विज्ञप्तिमा उल्लेख छ।
प्रदर्शनमा भौतिक दूरी कायम गर्न र मास्कको प्रभावकारी प्रयोग गर्न कांग्रेसले आग्रह गरेको छ।
मंसिर २९, २०७७ सोमबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।