काभ्रेबाट सुन चोरेर फरार भएका पाँच जना काठामाडौंबाट पक्राउ

काभ्रेबाट सुन चोरेर फरार भएका पाँच जना काठामाडौंबाट पक्राउ

काठमाडौं : काभ्रेपलाञ्चोकको पाँचखालबाट सुनको गहना चोरी गरेर भागेका पाँच जनाको समूहलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
 

पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट गहना चोरेर फरार भएका पाँच युवालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ का २७ वर्षका देवराज दाहाल, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २४ वर्षका रामचन्द्र चालिसे, काभ्रेको धुलिखेल नगरपालिका–१ का २३ वर्षका राम तामाङ, धुलिखेल–७ का १८ वर्षका हुइबहादुर तामाङ र धुलिखेल–१ का १८ वर्षका राजन तामाङ रहेका छन्।

माइली तामाङको घरबाट गहना र पैसा हराएपछि प्रहरीले खोजी गर्दा उक्त टोलीलाई काठमाडौंको ड्रागन डिस्कोमा फेला पारेको थियो। उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको सिंहले जानकारी दिए।

सिंहले उक्त घटनाको मुख्य योजनाकार राजन तामाङ रहेको बताएको छ। प्रहरीले ओखलढुंगाका देवराज दाहालबाट २३७ ग्राम र रामचन्द्र चालिसेको साथबाट २१० ग्राम सुनका गहना बरामद गरेको जनाएको छ। 

मंसिर २८, २०७७ आइतबार १८:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।