काठमाडौंका मुख्य सडकमा १७ करोडमा आधुनिक बत्ति जडान गरिँदै
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग र महानगर प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा आज (बिहीबार) मन्त्रालयमा सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमति अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकीलगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो।
सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्री नेम्बाङ्गले संघीय राजधानीसमेत रहेको काठमाडौं महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियान अन्तरगत यो योजना अघि बढेको बताए।
‘संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरलाई व्यवस्थित ढंगले उज्यालो महानगर बनाउने अभियानलाई मूर्तरुप प्रदान गर्न काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच आज हस्ताक्षर भएको छ’ मन्त्री नेम्बाङले भने, ‘आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी यो परियोजना सफल बनाउने गरी लाग्नुहोला।’
काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे।
‘यातायात व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न सडक बत्ती व्यवस्थापन गर्न अपरिहार्य छ,’ उनले भने, ‘सहरी सौन्दर्य अभिवृद्धि गर्न महानगरपालिका लागिपरेको छ। महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने उल्लेख छ।
सहमतिपत्रमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्यूत प्राधिकरणका तर्फबाट कामु कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन्।
मंसिर २५, २०७७ बिहीबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।