कांग्रेसमा विरोध प्रदर्शनको जिम्मा जिल्ला समितिलाई 

कांग्रेसमा विरोध प्रदर्शनको जिम्मा जिल्ला समितिलाई 

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पूर्व पदाधिकारीसहितको बैठकले प्रदर्शनमा केन्द्रबाट  पदाधिकारी नखटाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

उनले २९ गतेको विरोध प्रदर्शन सांकेतिक मात्र भएकाले केन्द्रीय प्रतिनिधि नतोकिएको बताए।  

यसअघि नै जिल्ला कार्यसमितिलाई परिपत्र गरिसकेको कांग्रेसको पदाधिकारी बैठक केन्द्रबाट नेतृत्व गर्ने पदाधिकारी पठाउने नपठाउने भन्ने विषयको छलफलका लागि डाकिएको थियो। 

यस्तै कांग्रेसले प्रदर्शनमा सहभागिताका लागि अपीलसमेत गरेको छ। बैठकले मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध, गर्दै हत्यामा संलग्नलाई कडा कारबाहीको मागसमेत गरेको छ। 

विप्लव समूहलाई ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपुर्ण मार्गमा आउनसमेत कांग्रेसले आग्रह गरेको छ। 

कांग्रेस नेता अर्जुननरसिंह केसीले सरकारले प्रतिपक्षी विचारलाई निषेध गर्ने र त्यस्ता पक्षलाई दमन गर्ने रणनीति लिएको बताए।

‘‘तरुणदलका नेताका हत्यादेखि विपक्षीलाई दमन गरेर जाने शैली विरुद्ध यसपटक सांकेतिके विरोध मात्र गर्न लागिएको हो’ उनले भने।

गत शुक्रबार देउवा निवासमा बसेको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै गृहजिल्लामा जिल्ला प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएको थियो।

उनले दुई वर्षअघि निर्मित पुल उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। सत्तारुढ दल नेकपाले पदीय दुरुपयोग गर्दै पौडेललाई रोक्ने उद्धेश्यले निषेधाज्ञा नै जारी गरेको थियो। 

अर्को दिन उनले सयौं कार्यकर्तासहित लगेर पुल उद्घाटन गरेका थिए। पौडेलमाथि प्रहरीले डण्डा लगाएपछि कांग्रेसले सरकारविरुद्ध अभियान थालेको हो। 

कांग्रेसले यो सरकारलाई भ्रष्टाचारीको ट्याग भिराएको छ। सरकारी विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोरोना नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारलगायतका विषयमा कांग्रेसले विरोध प्रदर्शनको एजेण्डा बनाएको छ।

सर्वदलीय बैठकमा समेत कांग्रेस यो सरकारविरुद्ध खरो भएर उत्रिएको थियो ।

मंसिर २५, २०७७ बिहीबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।