‘प्रिय म मरे भने काजक्रियामा सामेल नहुनु’
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वराजदुत कमानसिं लामाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
दक्षिण कोरियाका लागि नेपालका पूर्वराजदूत एवं पूर्वसांसद लामाको उपचारका क्रममा बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो।
लामालाई १४ दिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो।
लामाले मृत्यु हुनुभन्दा सात दिन पहिले सामाजिक सञ्जाल फेसबुकमा श्रीमतीलाई सम्बोधन गर्दै लामो पत्र लेखेका थिए।
फेसबुक स्टाटसको अन्तिममा यस्तो लेखेका छन्,‘यदि कथम् म मरे, मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु ! यो मेरो बिन्ती।’
उनले आफुलाई सबैभन्दा मनपर्ने आमा शव्द भनेका छन् । आमापछिको दोस्रो माया श्रीमतीलाई गर्ने गरेपनि श्रीमतीसँगको माया ‘बर्मुडा ट्रयाङ्गल’मा फसेको उनले लेखेका छन्।
उक्त स्टाटसमा लामाले जीवन मरणको दोसाधमा रहेका बेला काम नलागनेको धन, नआएका आफन्त, साथ नपाएको श्रीमतीको के काम भनेर दुखेसो पोखेका छन्।
लामाको स्टाटस जस्ताको त्यस्तै
आमा नामनै कति मोहक शब्द ‘आमा’ मैले संसारमा सब भन्दा बढी मया गर्ने ‘आमा’
प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाङगलमा फसेकोछ। तिमी यसलाई सामान्य लोग्ने स्वास्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन्।
छ्या कति कुरुप सिलावरको देक्ची कूचिएका कुरुप विचार र अनुहार बोकेका तिम्रा जिग्री दोस्तहरु।
प्रिय, तिमी त उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे । वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिएं । ढोंगीहरुलेत हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार । जे होस तिम्रा जालझेल खेती सप्रेकोनैछ। साधा जीबन उच्च विचारका होर्दिङबोर्ड बगैंचा घरका भित्तामा टांसेकाछौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ।
ठमेलमा ५० हजार यु एस डलरको विटा भेट्टाएछ। सोह्रखुट्टे पार्टीको भित्तामा गाइको गोवरले डलर टांसेर झिलीमिली बनाएछ। हांडिमा खिचडि बसाएर दुर्इ बुढाबुढी गीत गाएर नाचिबसेको खोजदै जाने प्रहरी र टुरिष्टले भेटेछ। यहि केसले हांडि घोप्टेको लोग्ने स्वास्नीको यूरोप अमेरिकाको यात्रा भयो।
हाम्रा माहान पाका माहान साधु सन्त नेताका यत्तिको नैतिक्ता र बिचर पनि मैले देखिन। थुईक्क जाली फटाहा द्रव्य पिशाचहरु।
प्रिय मेरी प्रिय हाम्रो प्रेम बर्मुडा ट्य्राण्गलमा फस्यो प्रिय।
१. मेरो डिग्निटी स्वाभिमानको ट्य्राङगल
२. चलअचल भौतिक सम्पतीप्रतिको तिम्रो आसक्ती
३. हाम्रोबीचको सामाजिक सम्बन्ध, स्थापित मूल्य मान्यता र त्यसमा आएको परिवर्तनले ल्याएका अन्तर बिरोधहरु।
यो हो हाम्रोबीचको अहिलेको बर्मूडाको ट्य्राङगल।
यादगर प्रिय मैले तिमीलाई सबै कुरो सम्पती सम्म सुम्पें तर मेरो स्वाभिमानप्रति खेलवाड गर्ने छुट दिईएको छैन। धेरैले नबुझेका र तिमीले पनि नवुझेको कुरो यहि छ।
बरमुडा ट्य्राङगल त्यो त्रासदिपूर्ण आजसम्म त्यसको भेद खोल्न सकेको छैन।
तर, यसको बनावट भूमध्य रेखा काल्पनिक लाइन संगै भएको हो
जब पृथ्वी एउटै ढिक्कोको एउटै समुन्द्र थियो।
हामी बसेको भू–भाग गोण्डावना ल्याण्डसंगै दक्षिणी धुर्वमा टांसिएर बसेको थियो।
त्यसबखत ठूलाठूला भौगोलिक उथलपुथल भइरहन्थे। एक्कास्सी गोण्डावना ल्याण्ड दक्षिणी धुर्वसंग छुट्टियो। ३ मिटर उत्तर सर्यो। पृथ्वीबीचमा उसिनेको अण्डा बीचमा फुटाएको जस्तो फुट्यो।
पृथ्वी दुइ भागमा बांडियो।
उत्तरी गोलार्ध पांगिया र दक्षिणी गोलार्ध गोण्डावना ल्याण्ड। यहि घटनामा भू–मध्य रेखिय क्षत्रमा बर्मुडा ट्रयाङगल बन्यो। त्यो आजपर्यन्त अभेद्य छ। त्यस्तै हामी हाम्रो बर्मुडा ट्रयाङगलमा फसेका छौं। प्रिय,
तिमीले कुरा नबुझ्दा र तिमीले जानीजानी धोका दिंदा मेरा केही सपनाहरु अधुरानै रहने भए।
राजनीतिक सपना राजनीतिक नेताहरुले गोलखाडि पुर्याइहाले। के कुरा गर्ने। तिमी म दुइ मिली यो पृथ्वी फनक्क एक फन्को लगाउने। विश्का आठै वटा आश्चर्यको रस्वास्वादन गर्ने।
माचिपिच्यूमा पुरानो पोर्तुगीज खाना खाने। गोन्जालोको देश हेर्ने। माकलबारीमा आफ्नै पिरामिड बनाउने पोहोरै योजना बनाएको थिएं। त्यो तिमीले भांडी दियौ। मध्यरातमा घाम झुल्किएको फिन्ल्याण्ड, नर्वेबाट रस्वास्वदन हामी दुइ साथै गर्ने सपना अधुरै रहने भयो।
ट्रान्स साइबेरियन ट्रेन चढेर व्लादिभोस्तक जाने। उलान बटोर र ऐतिहासिक गोवि मरुभूमीमा उंट चढने सपना अधुरै रहने भयो।
मानव विकासक्रमको २૪ लाख वर्षको ईतिहासमा सिन्थोपस प्रकृतिको जीवाष्मका मूलका मानिसहरू ड्रागन पहाड भिरालोका मानिसहरु पेकिङम्यान, लान्तीयान म्यान , वुसानम्यानले गरेका उपलब्धी र आदिबारे अलि शुक्ष्म अध्यन गरी हाम्रो ठुंसाकाबारे भौतिक रूपमै उपस्थित भएर अध्ययन गर्ने, दोङ सिङदान तथा धेरै हामी टिवेटो बर्मिज भाषा समुह र मंगोल मूलका पुर्खाहरुले एक ठुलो नदीको धार परिबर्तन गरि अहिलेको साइन्स र टेक्नोलोजीको युगमा पनि आस्चर्य चकित हुने हाम्रा प्राग कालिन पुर्खाको पौरख र सिप विज्ञान प्रविधि संगै पढने ईच्छा अधुरै रहने भयो।
हाम्रो शास्त्रले भनेको वुइसाङ, उर्गेन ह्युल, अब आउने बसन्त ऋतुमा अध्यनभ्रमणको रूपमा डुल्ने योजना थियो त्यो अधुरै रह्यो।
प्रिय म कोरोनाले लिएर जानको लागि सबै योग्यता पुगेको मान्छे म अरुले भने मृत्यु शैयाबाट भन्थे होला तर म भन्दिन। कोभिडसंग पैंठेजोडी खेल्दैछु। सायद म बाच्छु पनि होला मेरा वरपरबाट धेरै गए पनि। तर म आत्तिन्न।
यो अन्तीम घडीमा पनि मेरो धन मेरो लागि काम लाग्दैन भने त्यो धनको के काम। आफ्नो पाउनु पर्नेत यो हालतमा दिंदैन भने मेरो निम्ती कहिलेलाई चाहियो ?
यो जीवनको जीवनमरणको लडाईको बेला मेरो श्रीमती म साथ हुन्न भने त्यो श्रीमती अझै श्रीमती भनिरहनु कत्तिको औचित्य ? लौ प्रिय गरिखान मनग्य गरि दिएकोछु। वाँकी जीवन मोजगर। मैले पुरा गर्न नसकेको अधुरा काम अरुसंगै पुरा गर। आठै आश्चर्य हेर्ने घुम्ने भोक मैलेनै जगाइ सकेकोछु। तिमीलाई सक्षम पनि छौ। लौ बधाई प्रिय।
२८–३० वर्ष तिमी साथै यो ६–७ महिना वाहेक ज्यादै सुखदनै रह्यो। यो ६–७ महिनाले मलाई गलायो किनकी मैले तिम्रो मायामा विश्वासघात पाँए।
मेरो सेयरको करिव दुइ वर्षको साँवा ब्याज मेरो खातामा जम्मा गरेर आइज कुरो सहजै मिल्यो। उस्ले पैसा नदिए सिधै मसँग मिल्न आइज हामी दुई भएर मुद्दा लडौं या रिजनब्ली मिल्न आए मिल्ने।
प्रिय यदि तिमी जालीफटाहाकै पक्षमा लागिनै रहने हो भने मेरो र तिम्रोबीचको सम्बन्ध मेरो यस्तो बेलामा पनि तिम्रो साथ मलाइ रहन्न भने सम्बन्ध छ भनिरहनुको औचित्यै के रह्यो र प्रिय।
कुनै माध्यमले काम नगरेपछि बडो सरमकासाथ यो मिडिया अपनाएंँ। माफगर प्रिय यदि म कथं म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु। यो मेरो बिन्ती।
मंसिर २५, २०७७ बिहीबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।