सदर चिडियाखाना आजबाट खुल्दै

सदर चिडियाखाना आजबाट खुल्दै

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि बन्द गरिएको ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना आज (बिहीबार)बाट खुल्ने भएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी(को निर्णयपछि बन्द भएको आठ महिनाभन्दा बढी समयपछि चिडियाखाना खुल्ने भएको हो। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गत चैत ७ गतेदेखि चिडियाखाना अवलोकनका लागि बन्द गरिएको थियो। 

चिडियाखानामा स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरिने भएको छ। कोरोना संक्रमणबाट जोगाउन चिडियाखानाको प्रवेश क्षेत्रमा सेनिटाइजरसमेत राखिएको छ। 

चिडियाखाना प्रवेश गर्ने व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने नियम बनाइएको छ। यस्तै, चिडियाखानामा प्रवेश गर्ने सबैले मास्क अनिवार्य लगाउनुपर्ने छ। साथै चिडियाखानाभित्र बसेर खान तथा वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन्। 

मंसिर २५, २०७७ बिहीबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।