‘मिर्गाैला बचाऊ अभियान’ घोषणाको तयारीमा महानगर
काठमाडौं : काठमाडौं महानगरपालिकाले यस वर्षको महानगर दिवसका अवसरमा ‘मिर्गाैला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ।
‘यस वर्षको महानगर दिवसका अवसरमा ‘मिर्गाैला बचाऊ अभियान’ घोषणा गर्ने, काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्पदा निर्माण–पुनःनिर्माण, सेवा प्रवाह लगायतका सन्दर्भमा नागरिकको अभिमत लिनेलगायत तयारी गरेका छौं,’ २६ औं महानगर दिवस मूल समारोह समितिको आज बसेको बैठकमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले विभिन्न प्रयास गर्दै आएको बताउँदै उनले मिर्गाैला रोग लाग्न नदिन दक्ष चिकित्सकको टोलीसहित टोलटोलमै पुगेर महानगरपालिकाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
उनले काठमाडौं महानगरपालिकाले भगिनी सम्बन्ध स्थापित गरेका नगरहरुले दिएका पिसिआर मेसिन लगायतका स्वास्थ्य सामग्री विभिन्न अस्पताललाई दिइ स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पहल गरेको स्मरण गराए।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआएकाले यो वर्ष रााष्ट्रिय सभागृहमा सीमित व्यक्तिबीच कार्यक्रम आयोजना गर्ने तयारी गरेको उनको भनाइ छ।
२०५२ मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको हो। यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ।
मंसिर २४, २०७७ बुधबार १९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।